लण्डन। बेलायतका करिब दुईसय कलाकारले सवैखाले उद्योग–कंपनी र सार्वजनिक स्थानमा हुने यौन दुव्र्यवहारको अन्तका लागि अपिल गरेका छन्। सिनेमा, टीभीलगायतमा काम गर्ने ती कलाकारले खुला पत्र लेख्दै सबैखाले उद्योगमा हुने यौन दुव्र्यवहार अन्त्य गर्न अपिल गरेका हुन्।

दि अब्जर्भरमार्फत खुल्ला अपील गर्नेमा एम्मा थम्पसन, केरिया नाइट्ली, एम्मा वाट्सनलगायतका ख्याति प्राप्त कलाकारहरु रहेका छन् । एम्मा वाट्सनले त त्यस्तो दुव्र्यवहारमा परेका महिलाको सहयोग अभियानका लागि दश लाख पाउण्ड सहयोग नै दिएका छन्। केरिया नाइट्ली र टम हिड्डलेस्टनले पनि दश हजार पाउण्ड दिएका छन्।

यौन दुव्र्यवहारविरुद्ध सांकेतिक विरोधस्वरुप उनीहरु आइतवार राति लण्डनमा हुने बाफ्टा अवार्डको रेड कार्पेटमा कालो पहिरनमा उत्रने भएका छन्। उनीहरुको यो पहल हलिवुडले थालेको ‘टाइम्ज् अप’ अभियानप्रति ऐक्यवद्धता मानिएको छ।

हलिवुडका दिग्गज सिनेमा निर्माता हार्भेई वीन्स्टेइनले फिल्म अभिनेत्रीमाथि गरिएको यौन दुव्र्यवहारको खबर सार्वजनिक भएपछि अहिले विश्वभर नै यसविरुद्ध खुलेर प्रदर्शनहरु भइरहेका छन्।

प्रकाशन मिति–२०७४ साल फागुन ८ गते मंगलवार ।