लण्डन। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेले परिषदमा सन् १९९५ देखि स्थापना भएका सिर्जना र साहित्य सेवा तर्फका पुरस्कार घोषणा गरेको छ।

बेलायतका दुई कवि हरिविभोर कार्की र ध्रुव केसी
बेलायतका दुई कवि हरिविभोर कार्की र ध्रुव केसी

परिषदको स्थापनाकाल सन् १९९५ देखि नै परिषदमा आवद्ध रही बेलायतमा नेपाली भाषा, साहित्यको विकासमा उल्लेखनीय योगदान पुरयाए वापत सर्जकद्वय कवि हरिविभोर कार्की अल्डरसट र कवि ध्रुव केसी वेम्लीलाई २०१६ को एनएलडिसी गोल्ड मेडल दोस्रो पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।

सम्मानपत्र सहित यो पुरस्कार पदक आधा तोला सुन (२४ क्यारेट) र पांच तोला चांदीमा बनेको छ। नगद लिन चाहे ५०–५० हजार रुपैंया दिइनेछ। यस अघि २००९ मा साहित्यकार कवि घनबहादुर थापा मगरले उक्त पुरस्कार पाएका थिए।

सन् २०११ देखि परिषदमा कवि कोमलप्रसाद श्रेष्ठ मल्ल र श्रीमती कोहिनुर श्रेष्ठ मल्लद्वारा आ–आफ्ना बुबा आमाका नाममा स्थापित नेपाली साहित्य पुरस्कार २०१६ यस वर्ष मूल्यांकन समितिमा प्राप्त कृतिहरुमध्ये उत्कृष्ठ ठहर भएका कृतिहरु कविता विद्यातर्फ कवि तथा गीतकार घनबहादुर थापा मगरको ‘मेरो देश मेरो चिनो’ कविता संग्रहलाई प्रदान गरिएको छ।

त्यस्तै कथा विद्यातर्फ कवि तथा कथाकार हरिसिंह थापाको ‘नम्रताको कार्डिगन’ कथा संग्रहलाई प्रदान गरिएको छ। यो पुरस्कारमा पांच तोला चांदी र स्वर्ण अक्षरमा बनेको पदक छ। नगद लिन चाहे २१–२१ हजार रुपैंया धन राशी दिइने छ । परिषदले तीन महिना अघि देखि कविता र कथा विद्या तर्फका २०१६ भरि प्रकाशित कृतिहरु पुरस्कार मूल्यांकनका लागि मागेको थियो।

परिषदका उपाध्यक्ष पत्रकार वाचस्पति रेग्मीको संयोजकत्वमा रहेको कृति मूल्यांकन समितिले संकलित कविता र कथा विद्याका कृतिहरुको अलग अलग मूल्यांकन गरी नेपाली साहित्य पुरस्कारका लागि उत्कृष्ठ छनोट गरेको थियो। यो पुरस्कारबाट यसअघि २०१३ मा सुमलकुमार गुरुङ्, २०१४ मा भिजन संसार डटकमका सीइओ अभिमन्यु बैराग र २०१५ मा पत्रकार नवीन पोखरेल पुरस्कृत भएका थिए।

परिषदमा पुरस्कार सम्मान मूल्यांकन समिति र कृति मूल्यांकन पुरस्कार समिति गरी दुई उप समिति हरेक कार्यकारिणी समिति अन्तर्गत स्थायी रुपले रहने गरेका छन्।
प्रकाशन मिति–२०७३ साल चैत्र २० गते आइतवार।