लण्डन। बेलायतको लण्डनस्थित नेपाली दूतावासमा मंगलबार सांझ नेपालको पर्यटन प्रमोसनल संवन्धमा भव्य कार्यक्रम संपन्न भएको छ। कार्यक्रममा स्थानीय मेयर, काउन्सिलहरु, बेलायतस्थित नेपाली र बेलायती ट्राभल व्यवसायी, नेपालबाट आएका ट्राभल व्यवसायी, गैर–आवासीय नेपाली संघ बेलायतका प्रतिनिधि र अन्य शुभचिन्तक गरि करिब दुई सय हाराहारीको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गत वर्ष सन् २०१६ मा ४६ हजार २९५ बेलायती पर्यटकले नेपाल भ्रमण गरेको जानकारी दिंदै यो वर्ष जुनसम्म नेपाल भ्रमण गर्ने बेलायती पर्यटकको संख्या २६ हजार नाघेको बताए। न्यौपानेले नेपालमा भूकम्पपछि क्षतिग्रस्त पुरातात्विक सम्पदा, ट्रेकिङ रुट र अन्य भौतिक संरचनाहरु पुनर्निर्माण भइसकेको अवगत गराउंदै नेपाल भ्रमणका लागि सुरक्षित रहेको विश्वास दिलाए।

स्वागत मन्तव्य व्यक्त गर्दै बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले नेपालको प्राकृतिक सौन्दर्यको चर्चा गरे । राजदूत डा.सुवेदीले बेलायत नेपालको पर्यटन विकासमा भरपर्दो श्रोत भएको जनाए। राजदूतले यस वर्ष झण्डै ६० हजार बेलायती पर्यटकले नेपाल भ्रमण गर्ने आशा व्यक्त गरे।

कार्यक्रममा नेपालको कला संस्कृति झल्कने मौलिक नाचहरु जस्तै खस नाच, मन्जुश्री नाच, तामाङ सेलो, धिमे बाजा आदि प्रस्तुत गरिएको थियो । सो अवसरमा नेपालको पर्यटन प्रवद्र्धन सम्वन्धि वृत्तचित्र देखाइएको थियो।

News source: London Nepal News

प्रकाशन मिति–२०७४ साल कात्तिक २२ गते बुधवार ।