Nepal Army in UK

काठमाडौ। बेलायतको वेल्स, ब्रेकनमा सन्चालन भएको क्याम्ब्रियन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्णपदक प्राप्त गरेको छ। सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार उक्त अभ्यास असोज २७ देखि आज आइतबारसम्म सन्चालन भएको थियो।

उक्त अभ्यासमा सेनानी आयुष राणाको नेतृत्वमा १० सदस्यीय सैनिक टोली सहभागी भएको थियो। अभ्यासमा नेपालसहित २८ देशका १३९ सैन्य टोलीको सहभागिता रहेको थियो। नेपाली सेनाको प्रतिनिधित्व श्री गोरखबक्स गण तथा श्री विशेष फौज बाहिनीका टोलीले गरेको थियो।

प्रतिस्पर्धात्मक उक्त अभ्यासमा भाग लिने अन्य राष्ट्रका करिब ३३ प्रतिशत सहभागीले सो अभ्यास पूरा गर्न नसकेको नेपाली सेनाले जनाएको छ । व्यावसायिक, समर्पित, साहसी र संयमित फौजलेमात्र पूरा गर्नसक्ने अभ्यासमा अब्बल प्रमाणित गर्दै स्वर्णपदक जित्न सफल हुनुले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेनाको प्रतिष्ठा थप उच्च भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक ५ गते आइतवार ।