काठमाडौं। बलिउडका महशुर अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ रिलिजअघि नै विवादमा फसेको छ।

बढ्दो विवादलाई ध्यानमा राख्दै भारतीय सेन्सर बोर्ड अफ फिल्म सर्टिफिकेशन (सीबीएफसी)ले फिल्मका करिब १० वटा दृश्य परिवर्तन गर्न निर्देशन दिएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार बोर्डले १० वटा दृश्य परिवर्तनका साथै केही संवादलाई पनि परिवर्तन गर्न निर्देशन दिएको छ । हालसम्म फिल्मको टिजर र २ वटा गीत रिलिज भएको छ । फिल्मको पहिलो गीत रिलिज भएदेखि फिल्म विवादमा परेको हो।

फिल्ममा भएको ‘बेशरम रंग’ बोलको गीतमा धेरैले आपत्ति जनाएका छन् भने केहीले दीपिकाले उक्त गीतमा लगाएको बिकिनीको रंगलाई लिएर आपत्ति जनाएका छन्। हिन्दूवादी संघ संगठन लगायत धेरै भारतीय नागरिकले सो गीत र बिकिनीको बारेमा विरोध जनाउँदै आएका छन्।

सोही गीतका कारण फिल्मलाई प्रतिबन्ध लगाउन भारतको विभिन्न ठाउँमा माग भइरहेको छ । शाहरुख र दीपिका लगायत फिल्मको टिमविरुद्ध उजुरी दर्ता समेत भएको थियो । यी विवादका कारण सेन्सर बोर्डले यस्तो निर्णय गरेको हो ।

शाहरुख यस फिल्मबाट करिब चार वर्षपछि ठूलो पर्दामा फर्किएका छन् । शाहरुख यसअघि सन् २०१८ मा फिल्म ‘जिरो’ मा देखिएका थिए । मुख्य भूमिकामा उनले यस फिल्मबाट कमब्याक गर्न लागेका हुन् ।

फिल्मको बजेट करिब २ सय ५० करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । फिल्मको ओटीटी अधिकार करिब १ सय करोड भारतीय रुपैयाँमा बिक्री भएको छ । यस फिल्ममा शाहरुख र दीपिकासँगै जोन अब्राहम पनि मुख्य भूमिकामा देखिनेछन् ।

सिद्धार्थ आनन्दद्वारा निर्देशित यो फिल्म यही जनवरी २५ मा रिलिज हुनेछ ।