Jibro Chhedne jatra Bode 1काठमाडौ। भक्तपुर बोडेको विश्वप्रसिद्ध जिब्रो छेडाउने जात्रा भव्य रुपमा संपन्न भएको छ। नयाँ बर्षको दोश्रो दिन हरेक बर्ष बोडेमा मनाइने गरेको जिब्रो छेडाउने जात्रामा यो बर्ष बोडेका ४५ बर्षिय बुद्धकृष्णा बाग श्रेष्ठले जिव्रो छेडाएर परम्परालाई निरन्तरता कायम गरेका छन्।

बोडेको पाचो गणेश मन्दिर अगाडि रहेको पाटीमा देवगणको पूजा एवम् प्रार्थना गरी हजारौं भक्तजन माझ नकर्मी नाइकेले तेलमा डुबाई राखेको १० ईन्च लामो फलामको सुइरोले बुद्धकृष्णको जिब्रो छेडाइदिएपछि जात्रा प्रारम्भ भएको थियो। जिब्रो छेड्ने बुद्धकृष्णले चन्द्र आकारको महादीप बोकेर बोडेका विभिन्न शक्तिपीठमा करिब एकघण्टा परिक्रमापछि छेडिएको सुइरो निकालेर बोडेकै प्रसिद्ध महालक्ष्मी मन्दिर परिसरमा रहेको नासल देवताको मन्दिर टुँडाल दायााबायाँ ठोकिएको छ।

यसअघि विगत आठ वर्षदेखि जिब्रो छेड्दै आएका ३८ वर्षीय जुजुभाई बाँस श्रेष्ठले पारिवारिक समस्याका कारण यसवर्ष जिब्रो नछेड्ने घोषणा गरेपछि बुद्धकृष्ण श्रेष्ठले जिब्रो छेड्ने कार्य गरेका हुन्।

प्रकाशन मिति–२०७४ साल बैशाख २ गते शनिवार ।