काठमाडौ। भारतको दक्षिणी भूभाग तामिलनाडू र केरला प्रान्तमा भीषण आँधी र वर्षाले त्यहाँको जन–जीवन अत्यन्त प्रभावित बनेको छ। भीषण् आँधी र बर्षाको कारण त्यहाँ कम्तीमा पनि आठजनाको ज्यान गएको चीनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

सिन्ह्वाका अनुसार भीषण आँधी तथा बर्षाका कारण १ सय जना नागरिक हराएर बेपत्ता बनेका छन्। बेपत्ता बन्ने अधिकांश नागरिक माछामार्न समुद्रमा जाने रहेका छन्।

शुक्रबार बिहानीपख यसको प्रभाव धरै देखिएको थियो । बिहीबार रातिदेखि नै व्यापक हावाहुरी आएको र पछि भीषण वर्षाले गर्दा यति ठूलो संख्यामा नागरिक हताहत र बेपत्ता भएका समाचारमा जनाइएको छ।

तामिननाडू, केरला र दक्षिणी भारतको लक्षदीप भन्ने स्थानमा यो आँधीले ठूलो असर गरेको छ। सामुद्रिक किनाराका बस्तीहरुमा यसको झन ठूलो असर परेको छ। नागरिकहरुलाई सो क्षेत्रबाट सुरक्षितस्थलतर्फ जान भनिएको छ भने कतिपयलाई सारिएको पनि छ।

ती स्थानमा आँधीले एक हजारभन्दा बढी रुख ढलाएको छ । त्यसैगरी, बिजुलीका खम्बाहरु पनि ढालेकोले विद्युत अवरुद्ध बन्दै गएको पनि बताइएको छ। हराएका व्यक्तिको खोजी जारी छ, तर आँधीका कारण उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन्।
प्रकाशन मिति–२०७४ साल मंसीर १५ गते शुक्रबार ।