काठमाडौ। मतदान सम्पन्न भएपछि मतपेटिका लिएर नुवाकोट जिल्लाको सदरमुकाम विदुर जांदै गरेको टोलीलाई लक्षित गरी आइतबार साँझ बम विस्फोट भएको छ।

विदुर नगरपालिका–७ तुप्चेको चण्डेश्वरी मतदानस्थलको मतपेटिका लिएर पुग्दै गर्दा विदुर नपा वडा नम्बर ७ र ९ को सिमानामा रहेको अधेरीखोलामा बम विस्फोट गराइएको हो। मतपेटिका लिएर दलका प्रतिनिधि तथा सुरक्षाकर्मीहरु सदरमुकाम विदुरतर्फ गैरहेका बेला ठूलो आवाजमा वम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

बम विस्फोट भए पनि कुनै मानवीय र भौतिक क्षति नभएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले भनेका छन्। वम विस्फोट कसले र किन गराइएको हो भन्ने कुरा स्पष्ट नभएको तथा त्यस बारेमा अनुसन्धान भैरहेको प्रहरीले भनेको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर १० गते आइतवार ।