Chitwan Bharatpur

काठमाडौ। मत गणनाको अन्तिम चरणमा पुगिसकेको अवस्थामा भरतपुर महानगरपालिकाको मत गणना अनिश्चित कालका लागि स्थगित हुन पुगेको छ। मत गणना भइरहेको समयमा मध्यरातमा मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित भएको हो।

मतगणना भइरहेको समयमा आइतवार राति ११ः४४ बजे दलका प्रतिनिधिले मतपत्र च्यातेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँस गरी अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगित गरिएको जनाएको हो । सो क्रममा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आफू शौचालय गएर फर्कदै गर्दा मतपत्र च्यातिएको र त्यसपछि विवाद बढेको भन्दै अनिश्चितकालका लागि गणना स्थगित गरिएको बताएका छन्।  के कति मतपत्र च्यातियो सोबारे भने उनले यकिन हुन नसकेको भनेका छन्। च्यातिएका मतपत्रलाई मुचुल्का गरेर राखिएको छ ।

नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले हार्ने भएपछि माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको दावी गरेका छन्। माओवादी केन्द्रले भने एमालेलाई दोष लगाएको छ । मतपत्र च्यातेको र प्रहरी माथि हातपात गरेको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पक्राउ पर्नेमा माओवादीका द्रोणबाबु सिवाकोटी र ईश्वर सापकोटा एवम् एमालेका गङ्गालाल लामा रहेका छन्।

मतगणना स्थलमा उनीहरुले गनिसकेको मतपत्र सङ्ख्या जोड्दै गर्दा च्यातेपछि मतगणना स्थलमा निकै होहल्ला भएको थियो । प्रहरी उपरीक्षक थापाका अनुसार मतगणना स्थगित भएपछि मतपत्र गणना भइरहेको स्थल कवर्ड हलबाट दलका प्रतिनिधिलाई बाहिर निकालेर दुईवटा ढोकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले ताला लगाएको छ । सोही माथि एमालेले पनि ताला लगाएको छ । मतपत्र च्यातियो भनेपछि बाहिर रहेका दलका कार्यकर्ता नाराबाजी गर्दै मतगणना स्थलतर्फ गएपछि प्रहरीले लाँठीचार्ज गरेको थियो।

सो क्रममा भरतपुर महानगरपालिका–१९ को मतगणना भइरहेको थियो । वडा नम्बर २० को मतगणना हुन बाँकी रहेको छ । हालसम्म माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेणु दाहालभन्दा नेकपा एमालेका मेयर पदका ज्ञवाली ७५५ मत अन्तरले अघि रहेका छन्। हारजीतको टुंगो लाग्न लागेको अवस्थामा पराजित मनस्थितिकाहरुले यसप्रकारको गैह्रजिम्मेवारीपूर्ण कार्य गरेकोमा भरतपुर महानगरपालिकाबासीहरुले दुःख व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७४ साल जेष्ठ १५ गते सोमवार ।