काठमाडौ। मधेसी मोर्चाले आह्वान गरेको मधेश बन्दका कारण आज बुधवार दोस्रो दिन पनि मध्य पूर्वी तराईमा जनजीवन प्रभावित बनेको छ। बन्दका कारण सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, सर्लाहीलगायतका जिल्लाको जनजीवन प्रभावित बनेको हो। बन्दको प्रभाव पश्चिमी जिल्ला कपिलवस्तु, रुपन्देही र बर्दियामा पनि परेको छ।

मोर्चाको बन्दका कारण यी जिल्लाको बजार, कलकारखाना, शैक्षिकसंस्था पूर्ण रुपमा ठप्प छन् भने यातायातका साधन संचालनमा आउन सकेका छैनन् । ती जिल्लामा बिहानैदेखि मोर्चाका कार्यकर्ता चोक चोकमा बसेर लाठीसहित प्रदर्शन गरिरहेका छन् ।

Madhesh Banda

सुनसरी प्रहरीले मंगलबार राति पूर्वबाट पश्चिम जाने ४ सय १० वटा गाडी र पश्चिमबाट पूर्वका लागि छुटेका ४ सय ८७ वटा गाडीलाई स्कटिर्ङ गरी सुरक्षित स्थानमा पुर्‍याएको सुनसरीका एसपी पोषराज पोख्रेलले जानकारी दिए।

मोर्चाका कार्यकर्ताले सप्तरी घटनाको बिरोधमा बन्द आह्वान गरेका हुन्। उनीहरुले प्रहरीको गोली लागि मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, दोषीलाई कारबाहीलगायत ६ बुंदे माग गरेका छन्।

मोर्चाका कार्यकर्ताले एमालेको मेची–महाकाली अभियान कुनै पनि हालतमा सञ्चालन गर्न नदिने अडान राखेका छन्। मोर्चाका कार्यकर्ताको प्रदर्शनपछि तराईका जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रकाशन मिति–२०७३ साल फागुन २५ गते बुधवार ।