काठमाडौ। राष्ट्रिय मानव अधिकार आयोगले नेकपा एमालेद्वारा राजविराजमा सोमबार आयोजित कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीचको झडपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगका प्रवक्ता मोहना अन्सारीले मंगलवार विज्ञप्ति निकाल्दै झडपमा प्रहरीको गोली लागेर चार जनाको ज्यान गएको र दर्जनौँ व्यक्ति घाइते भएको घटना दुःखद् भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

National-Human-Rights-Commission

विज्ञप्तिमा मृतकका परिवारलाई उचित राहत, क्षतिपूर्ति उपलब्ध गराउन र घटनामा घाइते भएका सर्वसाधारण उपचारको व्यवस्था मिलाउन समेत सरकारसँग आग्रह गरिएको छ । आयोगले झडपको क्रममा घाइते भएका तथा मृतकको अवस्था सम्बन्धमा तथ्यहरु सङ्कलन गर्न आयोगले क्षेत्रीय कार्यालय विराटनगरबाट अनुगमन टोली मंगलवारै परिचालन गरेको जनाइएको छ ।

विज्ञप्तिमा आयोगले कुनैपनि राजनीतिक दलले आफ्ना राजनीतिक क्रियाकलापहरु सञ्चालन गर्दा हदैसम्मको संयमता अपनाउनसमेत आग्रह गरेको छ । यसैगरी राष्ट्रिय मानवअधिकार आयोगले २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारजनलाई रोजगारी र छोराछोरीलाई शिक्षा दिन सरकारलाई सिफारिस गरेको छ ।

आयोगका प्रवक्ता अन्सारीले घटनामा संलग्न विभिन्न प्रतिवदेनका आधारमा गरिएको निर्णयबारे विज्ञप्ति जारी गर्दै टीकापुर घटनाको निर्णय गर्दै आयोगले घटनामा भएको क्षति यकिन गरी क्षतिपूर्ति दिनसमेत सरकारलाई सिफारिस गरिएको छ । आयोगले सुरक्षा लापरबाहीले टीकापुर घटना भएको भन्दै सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) खडानन्द चौधरी र सशस्त्र प्रहरी बल उग्रतारा गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लक्ष्मणबहादुर सिंहलाई विभागीय कारबाही गर्न सरकारलाई सिफारिस गरिएको छ।

यसैगरी कैलालीको तत्कालीन प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ र इलाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुमन धितालले पनि मानवअधिकार उल्लङ्घन गरेको ठहर गरेको छ। आयोगले नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, सङ्घीय समाजवादी फोरममा अध्यक्ष उपेन्द्र यादव, सभासद् अमरेशकुमार सिंह र नेकपा–माओवादीका नेता देव गुरुङगले उत्तेजक भाषण गर्दा स्थिति तनाबपूर्ण बनेको बताएको छ।

आयोगले विज्ञप्तिमा २०७२ भदौमा रुपेन्दहीको गोनाहास्थित बेथरीमा चार वर्षीया बालिकासहित छजना सर्वसाधारणको ज्यान जाने गरी सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरिएको पाइएको उल्लेख गरिएको छ। आयोगले गरेको निर्णयमा मोरङको रङ्गेलीमा युवा सङ्घ नेपाल र संयुक्त मधेसी मोर्चाको आ–आफ्नो हठका कारण प्रहरीसँगको मोर्चाको झडपका कारण गोली लागी तीन जनाको ज्यान गएको बताइएको छ।
प्रकाशन मिति–२०७३ साल फागुन २४ गते मंगलवार ।