काठमाडौ। नेपालमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सप्तरी घटनापछि आकस्मिकरुपमा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले सरकारलाई दिंदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

Morcha-Meeting

संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले बताएका छन् । मोर्चाले मंगलबार सभामुखलाई पत्र लेखेर समर्थन फिर्ता लिएको औपचारिक जानकारी दिने भएको छ। यस्तै मोर्चाले फागुन २४ र २५ गते मधेस बन्दको घोषणा गरेको छ।

मेची महाकाली अभियान बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि गोली चलाउँदा चार जनाको मृत्यु भएपछि मोर्चाको आकस्मिक बैठक बसेको थियो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई मोर्चामा आबद्ध ७ दलको समर्थन थियो। संघीय समाजवादी पार्टीका १५, तराई मधेस लोकतान्त्रि पार्टीका ११, सदभावना पार्टी ५, तराई मधेस सदभावना पार्टी ३, राष्ट्रिय मधेस समाजवादी पार्टी ३, नेपाल सदभावना पार्टी १ र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका १ सांसदको समर्थन थियो ।
प्रकाशन मिति–२०७३ साल फागुन २३ गते सोमवार ।