KP Sharma Oliकाठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई मधेस विरोधी भन्नेलाई मधेसका मतदाताले मधेसबाट बढार्ने बताएका छन्। चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार महोत्तरीको बर्दिबास पुगेका ओलीले यस्तो भनेपछि मधेसका जनताहरु नै मन्त्रमुग्ध बनेका थिए।

नेकपा एमाले मधेसबाट बढारिन्छ भन्नेलाई असोज २ गते हुने चुनावले मधेसबाट बढार्छ भनेर केही दिन अघि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई जनकपुरमा विपक्षीले कुच्चो देखाएको स्मरण गर्दै ओलीले भने– ‘मधेसका जनताले नेकपा एमालेको पक्षमा मतदान गर्छन्। विपक्षले हामीलाई देखाएको कुच्चो हाम्रो हातमा आउँछ। कसले कसलाई बढार्छ हेर्दै जानुहोस्। चुनावमा मतदाताले गर्ने भोटबाटै हामीलाई मधेस विरोधी भन्नेहरु बढारिन्छन्।’

ओलीको जोशिलो भाषणमा मधेसी जनताले गडगडाहत ताली पिटेपछि अझ हौसिएका ओलीले मधेसका मतदाताले भोट दिएर नेकपा एमालेलाई पहिलो पार्टी बनाउने ठोकुवा समेत गरे। नेकपा एमाले राष्ट्रियताको पक्षमा अडिग हुँदा विपक्षीले नेकपा एमालेलाई मधेस विरोधी भनेर प्रचार गरेको ओलीको दाबी रहेको छ।

ओलीले नेकपा एमाले देशभक्त पार्टी भएको पनि जिकिर गरे। विदेशी शक्तिको हितमा संविधान संशोधन गर्न अझै पनि भाषण दिइरेको सत्ता पक्षप्रति ओलीलो चर्को कटाक्ष गरे। ‘अरुको इशारामा संविधान संशोधन गर्न खोज्नेहरु संशोधन फेल भयो भनेर किन रुनु ? अझ रुनका निम्ति किन दिल्ली जानु घरभित्रै बसेर रुनु नि ?’

मेची–महाकाली विद्युतीय रेल गुडाउने सपना नेकपा एमालेले पूरा गर्ने दाबी समेत ओलीले गरे। ओलीले भनेका छन्– ‘केटा केटीले खेलेको रेल होइन्। हामीले गुडाएर छोड्छौं।’ एमाले मधेसको विकासको पक्षमा रहेको ओलीले जिकिर गरे।

प्रकाशन मिति–२०७४ साल भाद्र ३० गते शुक्रबार ।