Bidhya Sundar Shakya-Mayor of Kathmandu Metropolitan City
Bidhya Sundar Shakya-Mayor of Kathmandu Metropolitan City

काठमाडौ। नेपालको पहिलो महानगरपालिका काठमाडौ महानगरपालिकाका महानगर प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौ महानगरभित्र रहेका सम्पदास्थलको संरक्षण तथा भूकम्पबाट भत्किएका प्राचीन महत्वका सम्पदा जीर्णोद्धार चाँडो गरिने बताएका छन्।

ज्यापू महागुठी महानगर कार्यसमितिले शनिवार आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख शाक्यले सम्पदास्थल महानगरको पहिचान भएको बताउँदै विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई प्राथमिकता दिइने बताएका छन्।

महानगरमा बढ्दै गएको प्रदूषण, धुवाँ र धुलोबाट नगरवासीलाई मुक्त पार्ने महानगर प्रमुख शाक्यको भनाइ रहेको छ। नेपाली काँग्रेसका नेता तीर्थराम डङ्गोलले मापदण्ड विपरीत अव्यवस्थित रुपमा सञ्चालित सवारी साधनलाई प्रतिबन्ध गरी सडक विस्तारका क्रममा अपुरो छाडिएका कार्यलाई चाँडो पूरा गर्न सुझाव दिएका छन्।

काठमाडौ महानगरपालिकाका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले महानगरलाई स्वच्छ तथा हरियाली बनाउने र युवा सशक्तीकरणका कार्यक्रम ल्याई उद्यमशीलका योजना कार्यान्वयन गरिने खुलासा गरेकी छन्।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष बाबुराजा महर्जनले प्राचीन महत्व बोकेका सम्पदा तथा स्मारकको संरक्षण तथा प्रवद्र्धन गर्न प्रमुख र उपप्रमुखलाई आग्रह गरेका थिए।
प्रकाशन मिति–२०७४ साल असार ३ गते शनिवार ।