–निशान बुढाथोकी
काठमाडौं। विश्वमा, हरेक ७८ जना महिलामध्ये १ जनामा, पाठेघरको मुखको क्यान्सर हुने गरेको तथ्यांक छ । त्यस्तै पाठेघरको क्यान्सर भएका हरेक १०८ जनामा १ जनाको ज्यान जाने गरेका छ । त्यसो त, सबै नै महिला, पाठेघरको क्यान्सरको जोखिममा छन्। के वयस्क , के उमेर पुगेका महिला सबै महिला पाठेघरको क्यान्सरको जोखिममा छन् ।

पाठेघरको क्यान्सर भएका महिलामध्ये ९० प्रतिशत महिला ४० वर्षभन्दा बढी उमेरका छन्। त्यसपछि, ६० वर्षका कटेकाहरुमा अध्याधिक छन्। एक अध्ययन अनुसार, विश्वभरमा, महिलाहरुमा हुने क्यान्सरमध्ये, पाठेघरको क्यान्सर पाचौं स्थानमा आउँछ । तर नेपालमा पाठेघरको क्यान्सर पहिलो नम्बरमै आएको छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार, हरेक वर्ष ५ लाख जनालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको र दुई लाखको मृत्यु हुने गरेको छ। हाम्रो जस्तो विकासशील देशमा ८ हजार महिलाको मृत्यु हुने गरेको छ। यही रोगका कारण, विश्वमा हरेक दिन ५४८ जना, प्रत्येक घण्टा २३ जनाको मृत्यु हुने गरेको, डरलाग्दो तथ्यांक छ ।
नेपालमा क्यान्सर रजिष्ट्रीको तथ्यांक अनुसार, १८ हजार ५ सय महिलालाई पाठेघर मुखको क्यान्सर हुने गरेको छ।

यो संख्या अरु खलाका क्यान्सर भन्दा धेरै नै बढी हो । विश्व स्वास्थ्य संगठन सन् २०१८ को तथ्यांक अनुसार नेपालमा महिलालाई हुने क्यान्सरमध्ये सबैभन्दा बढी पाठेघर मुखको क्यान्सर हुने गरेको छ । यो तथ्यांक अनुसार, नेपालमा बर्षेनी करीब ३ हजार महिला, अर्थात् करीब १९ प्रतिशतलाई पाठेघरको, करीब २ हजार १ सय अर्थात्, झण्डै १४ प्रतिशतलाई फोक्सोको क्यान्सर, २ हजार जनाई (१३ प्रतिशत) स्तन क्यान्सर हुने गरेको पाइएको छ । सबै खालका गरी नेपालमा, महिला पुरुष सहित वर्षेनी करीब २७ हजारलाई क्यान्सर लाग्ने गरेको अध्ययनले देखाएको छ ।

हामीले यसअघि नै भनियो, नेपालमा हरेक वर्ष दुई हजारभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुने गरेको तथ्यांकले देखाउँछ । त्यसमध्ये एक हजार महिलाको मृत्यु यही रोगको समयमै उपचार नपाएर हुने गर्छ । तेस्रो वा चौथो स्टेजमा पुगेपछि मात्रै लक्षण देखिने भएकाले बिरामी अस्पताल पुग्दासम्म ढिला भइसकेको हुन्छ । ह्युमन प्याथिलोमा भाइरस नामको जीवाणुको संक्रमणबाट पाठेघरको मुखको क्यान्सर हुनेगर्छ । यो भाइरस ३० वर्ष उमेर कटेका व्यक्तिको शरीरमा पाँचदेखि १० वर्षसम्म रहिरह्यो भने पाठेघरको मुखको क्यान्सर हुन्छ । यसको संक्रमण पत्ता लगाउन पाठेघरको मुखको पानी र एचपिबी, डिएनए परीक्षण गर्नुपर्छ ।

चिकित्सकहरुका अनुसार, नेपाली महिलाहरुलाई लाग्ने क्यान्सरमध्ये, पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा आउँछ । क्यान्सर रोगविज्ञहरुले गरेको अध्ययन अनुसार, पाठेघरका क्यान्सरबाट नेपालका झन्डै १० देखि १२ हजार महिला पीडित भएको अनुमान छ । सो अध्ययन अनुसार, २६ हजारदेखि ४५ हजार नेपाली महिलालाई भविष्यमा पाठेघरको क्यान्सर हुन सक्ने सम्भावना देखिएको छ। विवाहितमध्येमा अधबैंसे र प्रौढ महिला पाठेघरको मुखको क्यान्सरको बढी जोखिममा देखिएका छन् । ३० देखि ६० वर्ष उमेर समूहका महिलामा, पाठेघरको क्यान्सर बढी देखिएको छ।

तर, पाठेघरको क्यान्सरलाई रोकथाम गर्न सकिने र सुरुवाती अवस्थामै पत्ता लगाउन सकेमा, निको पार्न सकिन्छ । क्यान्सरलाई जितेका उदाहरण सयौं छन् ।
यसै विषयमा थप जानकारी दिन हामीले नेपाल कोरियन मैत्रीनगर अस्पताल भक्तपुरका Obstetrics and Gynecology Departmanet Head डाक्टर जमुना किरण पौडेलसंग कुराकानी गरेका छौं ।

१– शारिरीक संरचना तथा बनौटले गर्दा महिलालाई संक्रमण हुने रोग पुरुषको तुलनामा धेरै छन्, यस्तो अवस्थामा महिला प्रजनन् सम्बन्धि कस्ता खालका रोगहरु बढी आउँछन् ?
बिशेषगरी महिला प्रजनन्मा बढी पाठेघरको समस्या, सेतो पानी तथा गन्हाउने पानी बग्ने, चिलाउने, पिसाब पोल्ने समस्या भएका महिलाहरु आउँछन् । पहिला पहिला गाउँ घरमा उमेर पुगेका वृद्ध महिलाहरु आङ खस्ने समस्या लिएर आउनु हुन्थ्यो, अहिले अलि कम भएको छ । सचेतनाको कारण मानिसहरु जागरुक भएका छन्, त्यही कारण सावधान भएर पनि हुन सक्छ यस्ता खालको समस्या कम छ आजभोलि ।

२–महिलाहरुमा सेतो पानी बग्नुको कारण के होला ?
सरसफाई एउटा प्रमुख कारण मान्न सकिन्छ । त्यसको अलावा मल्टिपल सेक्स पार्टनर, पौष्टिक तत्वको कमी, इनफेक्सन हुदा हुदै कहिले काही रिपिटेट इन्फेक्सन हुन सक्छ जसले गर्दा पनि सेतो पानी बग्न सक्छ ।

३–खासगरी कस्ता खालका जटिल रोगहरु महिलामा देखिन्छन् ?
पाठेघरको मुखको इन्फेक्सन, पाठेघरको इन्फेक्सन, कहिलेकाही पिलो जस्तो सुनिएर आउँछ, त्यसको इन्फेक्सन, पिसाब नलीको इन्फेक्सन, पुरुषको तुलनामा महिलाको पिसाब नली सानो हुने भएकोले पिसाब नलीको इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ । महिनावारी गडबडी,कसैको १५÷१६ दिनमै महिनावारी हुने, कसैको २/३ महिना सम्म पनि नहुने समस्या आउँछ, त्यस्तै हर्मनको गडबडी, तनावले गर्दा महिनावारीमा गडबडी, Pregnacy Complication, कसैको पाठेघर नै नभएको अवस्था पनि हुन्छ, यस्ता विभिन्न समस्याहरु महिलामा देखिन्छन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हरेक वर्ष ५ लाख महिला पाठेघरको मुखको क्यान्सर हुने गरेको र २ लाख महिलाको मृत्यु हुने गरेको छ । 

४–पाठेघरको डिम्बासयको क्यान्सर कसरी हुन्छ र कसरी थाहा पाउन सकिन्छ ?
पाठेघरको क्यान्सर भनेको एकै ठाउँमा हुदैन । दुई तीन ठाउँमा हुन्छ । एउटा पाठेघरको बच्चा जन्मिने घर , क्यान्सर पनि हुन सक्छ , जुन बाहिरै बाट गन्हाउने पानी, सेतो पानी, बाहिर देखिने घाउ जस्तो हुन्छ, अलसर पनि भनिन्छ । अर्को सर्भिकल क्यान्सर जुन पाठेघरको मुखको क्यान्सर हो । यसमा पनि महिलाहरुमा गन्हाउने बग्ने समस्या हुन्छ , तर कहिलेकाही यस्तो समस्या नदेखिन पनि सक्छ । तर यस्ता खालका समस्या नदेखिए पनि वर्ष वर्षमा पाठेघरको पानीको जाँच गराउनु पर्छ । याद राख्नुहोस् पाठेघरको डिम्बासयको क्यान्सर र पाठेघरको मुखको क्यान्सर दुई भिन्न कुरा हुन् ।

५–पाठेघरको मुखको क्यान्सरको जोखिममा कस्ता उमेर समूहका महिलाहरु पर्ने गरेका छन् ?
यति नै उमेर भन्ने त छैन तर पनि ३० देखि ६० वर्ष उमेरको महिलाहरु नै बढी जोखिममा पर्ने गरेका छन् । त्यसमा पनि धेरै जनासंग यौन सम्पर्क गर्नाले, अहिलेको अवस्थामा १२, १३ वर्षको उमेरमा सम्पर्कमा रहने गर्दछन्, त्यसले गर्दा पनि ,उमेर भन्दा छिटो विवाह गरी बच्चा जन्माउनाले, विहे नभई यौन सम्पर्क राख्नु, पौष्टिक तत्वको कमी, डर लाजको कारण उपचार गर्न नआउनु जस्ता विविध कारणले गर्दा महिलाहरु जोखिममा पर्ने गर्छन् ।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल साउन १ गते शुक्रवार ।