काठमाडौ। नेपाल सरकारले यही माघ २४ गते बुधवारका दिन राष्ट्रिय सभा चुनाव गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २४ गते बुधवारका दिन राष्ट्रिय सभाको चुनाव गर्ने निर्णय गरेको हो।

यसअघि निर्वाचन आयोगले सरकारलाई माघ २५ गते राष्ट्रिय सभा चुनाव गर्न सिफारिस गरेको थियो। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले गत साता मात्रै राष्ट्रिय सभा चुनाव सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्। त्यसलगत्तै निर्वाचन आयोग र सरकार राष्ट्रिय सभा चुनावको गृहकार्यमा जुटेका हुन्।

आयोगले पहिला प्रदेश प्रमुख तोकेर मात्रै चुनावको मिति घोषणा गर्न सरकार समक्ष आग्रह गरेको थियो तर सरकारले प्रदेश प्रमुखको सिफारिस र अस्थायी मुकाम तोक्ने कार्य भने गर्न सकेन्।

अस्थायी मुकामको माग गर्दै देशव्यापी विरोध चर्कंन थाले पनि सरकारले प्रदेशको अस्थायी मुकाम भने तोक्न सकेको छैन। सरकारले अस्थायी मुकाम तोक्न जति ढिलो गर्छ उती नै विरोधका आवाजहरू देशव्यापी रुपमा बढ्दै जाने देखिएको छ।

प्रदेश राजधानी माग गर्दै धरान, धनकुटा, इटहरी, डोटी, बुटवल, दाङ, जनकपुर, विरगञ्जलगायतका स्थानमा धर्ना, विरोध र आन्दोलन हुने क्रम दिनानुदिन बढ्दै जान थालेको छ।
प्रकाशन मिति–२०७४ साल पुष २१ गते शुक्रबार ।