–सुनकुमार अवाल
ललितपुर । सवैको नजरमा रातो मछिन्द्रनाथ जात्रामा रातो मछिन्द्रनाथ र उनको भोटो जात्रालाई नै विशेष रुपले हेर्ने गरेको पाइन्छ। रातो मछिन्द्रनाथको जति महत्व छ। त्यति नै महत्व रातो मछिन्द्रनाथको जात्राको लामो अवधि रातो मछिन्द्रनाथको अगाडि गुड्ने मिननाथको वारेमा त्यति धेरैले चासो दिएको पाइदैन।

रातो मछिन्द्रनाथको जति महत्व छ–त्यति नै मिननाथको पनि रहेको छ। मिननाथ र मछिन्द्रनाथ एक अर्काको पूरक पनि भन्ने गरिएको छ। जसको कारण दुईमा एक पनि छुटेमा जात्राको महत्व नै हुन्न । यसकारण, जहाँ रातो मछिन्द्रनाथ त्यहाँ मिननाथ भन्ने गरिएको छ। मिननाथको मन्दिर ललितपुर महानगरपालिका वडा नंबर १२ स्थित टंगलमा रहेको छ। रातो मछिन्द्रनाथको मन्दिर भने, त्यसको ठीक अगाडि ललितपुर महानगरपालिका वडा नंबर १६ स्थित मछिन्द्रवहालमा रहेको छ।

ललितपुरको शक्तिशाली देउताको रुपमा मानिने गरेको हिन्दू तथा बौद्धमार्गीहरुको आस्थाको प्रतिक मिननाथलाई भगवान श्रीकृष्ण जन्माष्टमीमा श्रीकृष्णको रुपधारण गराएर पूजा गर्ने प्रचलन भएवाट कतिले मिननाथलाई कृष्ण र रातो मछिन्द्रनाथलाई राधा पनि भन्ने गरिएको छ। यथार्थमा रातो मछिन्द्रनाथ र मिननाथलाई राधाकृष्णको रुपमा लिइने गरेको देखिएतापनि खासै पुष्टि भने भएको देखिदैन।

मिननाथको स्थापना कसरी भयो भन्ने प्रसङ्गमा लिच्छवीकालीन राजा अंशुवर्माको समयमा यमराज स्वयं प्रकट भएका थिए भनिन्छ। यो संकट हटाउन कलिगत सम्बत ३४०४ चैतमा यमराजलाई प्रसन्न पार्न मिननाथको स्थापना गरियो। यो पश्चात् यमराज पनि प्रशन्न भएर यमराज फर्केको किम्वदन्ती रहेको छ।

लिच्छवीकालिन देखिंदै प्रख्यात रहेको यस मन्दिरका मिननाथको रथयात्रा राजा नरेन्द्रदेवको पालामा चलेको इतिहासविदहरुको भनाई छ। यसको सुरुवात कलि सम्बत ३६९४ मा भएको हो। त्यस बखतदेखि यसको छाना मान्द्रोको थियो। पछि, श्री ५ सुरेन्द्रको राज्यकालमा जंगबहादुरका छोरा जगतजङले यसको छाना सुनको मोल्लोम्बको बनाइ छाउन लगाएका थिए। भूकम्प तथा बिपतमा यस मन्दिरलाई हालसम्म कुनै ठूलो क्षति नपुगेको कारण यस मन्दिरमा ठूलै शक्ति भएको विश्वास गरिएको छ।

हठयोग प्रदीपका नाम गरेको प्राचीन ग्रन्थमा मिननाथको नाम छैठौं नम्बरमा साथै मानव शरीर भएका महासिध्दहरुको उल्लेख गर्दा दोस्रो नम्बरमा पर्दछ। यस्तै तन्त्रको कुरा गर्ने हो भने बाह्र सिध्दमा पनि उनको उल्लेख रहेको छ। साथै बज्रयानमा पनि नाथ मध्ये सर्वश्रेष्ठ मिननाथ मानेका छ्न। र मिननाथ पछि मात्रै गोरखनाथको नाम आउने गरेको छ।

प्रत्येक पाँच वर्षमा हुने सम्यक महादानमा पनि मिननाथ रहेको महाबिहारकि बसुन्धरालाई आशनमा बसालेपछि मात्र अरुलाई बसाल्ने तथा त्यही बसुन्धरालाई उठाएपछि बल्ल अरु देवतालाई उठाउने चलन रहेको छ। यसबाट पनि के स्पष्ट हुन्छ भने यि देवता निकै प्राचिन र शक्तिशाली रहेको पुष्टि भएको छ।

रातो मद्धिन्द्रनाथका मूल पुरोहित कमलराज बज्राचार्य र मिननाथका पुजारी नातिराज शाक्य पनि मिननाथ शक्तिशाली देवता भएको बताउंछन्। तन्त्रयुगमा नाला बनेपाका चण्डेश्वरी समेत मिननाथको शक्तिको बारेमा परिक्षण गर्न पाटन आएको र मिननाथको शक्ति देखेर तीनछक्क परेर फर्केका कैयन आख्यानहरु पनि रहेका छन्। जसको वारेमा थप अध्ययन तथा अनुसन्धान हुनु आवश्यक छ।

From-Nami Saptahik

प्रकाशन मिति–२०७९ साल असार ७ गते मंगलवार ।