Mustang Kagbeni

काठमाडौ। हिमालपारिको जिल्ला मुस्ताङ्ग स्थित मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्कंदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना भएको छ। उक्त दुर्घटनामा परेर पाँच जनाको ज्यान गएको छ।

शनिवार मध्यान्ह १२ः३० बजे बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–४ मा ना५ख ६०६७ नंको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र दुईजनाको उपचारका लागि जिल्ला अस्पताल मुस्ताङ ल्याउँदा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, मुस्ताङका प्रहरी नायब उपरीक्षक हरिहर योगीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा काठमाडौँ सुविधानगरका ५८ वर्षीय भोला अधिकारी, काठमाडौँ कोटेश्वरका ४२ वर्षीय पुरुषोत्तम ढकाल, महालक्ष्मी नगरपालिका–२ ललितपुरका ५५ वर्षीया लीला खड्का, चागुनारायण–८ की सीता तिमिल्सिना र कागेश्वरी–३ का क्रान्ति खड्का रहेका छन्। उनीहरुको शव जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङमा राखिएको छ। दुर्घटनामा ३० जना घाइते भएका छन्।

घाइतेमध्ये चारजनाको अवस्था अत्यन्त गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, मुस्ताङले जनाएको छ । २६ सिट क्षमताको बस भए पनि बसमा ३५ जना सवार थिए । सामान्य घाइतेको जिल्ला जनस्वास्थ्य कार्यालयमा उपचार भइरहेपनि गम्भीर बिरामीलाई हेलिकप्टरमार्फत पोखरा लगिएको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख ९ गते शनिवार ।