काठमाडौ। नेपालको प्रमुख आकर्षणको केन्द्र मानिएको काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको कामको कटाक्ष अति नै हुने गरेको छ। विद्यासुन्दर शाक्यले निर्वाचनमा भनेजस्तो काम गर्न सकेन भन्ने विभिन्न टिक्का–टिप्पणी आउने गरेको छ।

त्यसरी टिक्का–टिप्पणी गर्नेहरुले नै मेयर शाक्यलाई काम गर्न नदिएको प्रमाणित भएको छ। काम गर्ने बेला जतिखेर पनि मेरो यो भएन–फलानाको यो काम गरिदिनु पर्यो जस्ता हजारौ कर्र–कर्र तथा क्वार्र–क्वार्र गर्नेहरुले नै काम गर्न समय नदिएको प्रष्ट देखिएको छ। काठमाडौ महानगपालिकाको कार्यालयमा होस् या विभिन्न सभा–समारोहमा पुग्दा पनि मेयर शाक्यलाई व्यक्तिगत काम गरिदिनु पर्यो भनेर अघिपछि लाग्नेहरुको नै लर्को पाइन्छ।

Bidhya Sundar Shakya-Mayor of Kathmandu Metropolitan City

हरेकको कुरा सुन्न र गर्न पछि नपर्ने मेयर शाक्य सौम्य तथा सोझो भएको कारण सवैले हेपेको हुनुपर्ने तथा मेयर शाक्यले काठमाडौ महानगरपालिकाका प्रत्येक वडामा बरोबर बजेट निकासा गरेको जिकिर नेकपा एमालेका प्रभावशाली नेता सानुकाजी श्रेष्ठले भनेका छन्।

नेता श्रेष्ठका अनुसार, मेयर शाक्यले काठमाडौ महानगरपालिकाका प्रत्येक वडाको समानुपाति विकासका लागि १ करोडको बजेट दिएको छ। मेयर शाक्यले दिएको बजेटमा काम गर्नेहरुले नै मेयरले कामै गर्न सकेन भनेर आरोप लगाउने गरेको टिप्पणी पनि नेता श्रेष्ठको रहेको छ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मेयर शाक्यको कामले काठमाडौमा नेकपा एमालेलाई प्रभाव पार्ने जस्ता टिप्पणी आइरहेको बेलामा मेयर शाक्यले काठमाडौ महानगरपालिकामा बाहिर आएजस्तो कामै नभएको समाचारहरु गलत भएको पनि नेता श्रेष्ठको दावी रहेको छ।

काठमाडौ महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले मिडियामा आएजस्तो मेयर शाक्यले काम नगरेको भन्ने गलत भएको भन्छन्। स्थापितले काठमाडौ महानगरपालिकाको मेयरको सिट नै हटसिट भएको कारण जति राम्रो काम गर्दापनि विरोध नै आउने भएको तथा काम गरेकै कारण सहन नसक्नेहरुले त्यस्तो आरोप लगाएको स्थापितको भनाई रहेको छ।

मेयर शाक्य काठमाडौ महानगरपालिकाका जनताको सुख–सुविधाको लागि अहोरात्र काम गरिरहेको जिकिर गर्छन्। नियम–कानून बमोजिम जनताको काम गर्न आफू कहिले पनि पछि नपर्ने र अहोरात्र काम गरेर पाँच बर्षभित्र काठमाडौ महानगरपालिकाको मुहार अति उज्यालो अनि सफा बनाउने आफ्नो प्रमुख लक्ष्य नै रहेको मेयर शाक्यले भिजन संसारसंगको संक्षिप्त कुराकानीमा भनेका छन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक १७ गते शुक्रबार ।