Nepal Police

काठमाडौ। नेपालमा स्थानीय चुनावका लागि मागिएको म्यादी प्रहरीमा छनोटकाक्रममा शनिबार तीनजनाको मृत्यु भएको छ । बाँके, मोरङ र खोटाङमा गरी तीनजनाको मृत्यु भएको हो।

बाँकेमा छनोटकाक्रममा २९ वर्षीय टोलबहादुर थारुको मृत्यु भएको छ। दौड सकेर सेटअप गर्नेक्रममा उनी बेहोस भएर लडेको र तत्काल उपचारका लागि अस्पताल पुर्‍याउँदा मृत्यु भएको जनाइएको छ। यस्तै, जिल्ला प्रहरी कार्यालय मोरङमा दौडनेक्रममा विराटनगर–१६ का २७ वर्षीय तुलसी राजवंशीको मृत्यु भएको छ।

क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक रमेश भट्टराईले म्यादी प्रहरीमा भर्ना हुन आएका राजवंशी दौडनेक्रममा घाइते भएको र उपचारका लागि कोसी अञ्चल अस्पतालमा पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको बताए । जिल्ला प्रहरी कार्यालय खोटाङमा पनि दौडनेक्रममा सप्तेश्वर–६ का २४ वर्षीय किशोर निरौलाको मृत्यु भएको छ।

दौडँदा एक्कासि बेहोस भएका उनको उपचारका लागि लैजानेक्रममा मृत्यु भएको जनाइएको छ । म्यादी प्रहरीका निवेदकलाई छनोटका लागि शनिबार पहिलो दिन एक किलोमिटर दौडाइएको थियो ।
प्रकाशन मिति–२०७३ साल चैत्र १९ गते शनिवार ।