काठमाडौ। जनताका गायक जन–गायक रामकृष्ण दुवालको युग थर्काउने गीत गायनको संगीत यात्रा एकल सांझ हुने भएको छ। प्रजातन्त्र दिवसको दिन यही फागुन ७ गते सोमवारका दिन काठमाडौमा रामकृष्ण दुवाल संगीत यात्रा हुने भएको हो।

काठमाडौको सांस्कृतिक संस्थान स्थित राष्ट्रिय नाचघरमा दिउंसो १ बजेवाट निःशुल्क प्रवेशसहित कार्यक्रम गर्ने अन्तिम तयारीमा रहेको आयोजक नेपाल भाषा मंकाः खलःका बर्तमान अध्यक्ष नरेशवीर शाक्यले बताएका छन्।

सांस्कृतिक संस्थानको सहकार्यमा हुन गैरहेको उक्त कार्यक्रममा गायक दुवालले एक दर्जन कालजयी गीत गाउने भएका छन्। जसमा गायक दुवाललाई उनको लालजोडी गायक रामेश श्रेष्ठले गायन तथा हार्मोनियममा साथ दिने भएको छ।

गाउं–गाउंवाट उठ, एक जुगमा एक दिन एक चोटी आउंछ, सिर्साया हेकू जस्ता सयौ कालजयी गीतका स्रष्टा गायक दुवालको जन्म विसं.२००७ साल आषाढ १३ गते कीर्तिपुरको पाँगामा भएको हो। संगीतमा स्नातक दुवालका दर्जनौ गीतका एल्बम प्रकाशनमा आइसकेको छ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य समेत रहेका दुवाल नागरिक आन्दोलनका सक्रिय सदस्य पनि हुन्।

प्रकाशन मिति–२०७४ साल फागुन ५ गते शनिवार ।