काठमाडौ। राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमालेले एकल बहुमत ल्याएको छ। कूल ५९ सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये ५६ सदस्यका लागि भएको निर्वाचनमा एमाले एक्लैले २९ सिटसहित बहुमत ल्याएको हो। नेपाली कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले १०, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले २–२ सिट ल्याएका छन्।

५९ सदस्यीय राष्ट्रिय सभामा सात वटै प्रदेशबाट ८/८ जनाका दरले ५६ सांसद निर्वाचित हुने र सरकारको सिफारिसमा राष्ट्रपतिबाट तीन जना मनोनित गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश नम्बर १ बाट नेकपा एमालेका ६ र नेपाली कांग्रेसका २ जना राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेश नम्बर २ मा भने यसअघि नै एमाले, कांग्रेस, राजपा र फोरमबाट २/२ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रदेश नम्बर ३ मा पाँच सिट जित्दै एमालेले बहुमत ल्याएको छ भने नेपाली कांग्रेसले २ र नेकपा माओवादी केन्द्रले एक सिटमा विजयी हात पारेका छन् । प्रदेश नम्बर ४ मा नेकपा एमालेले ३, नेपाली कांग्रेसले ३ र माओवादी केन्द्रले २ सिट जितेका छन्। प्रदेश नम्बर ५ मा पनि एमालेले ४, कांग्रेसले २ र माओवादीले दुई सिट जितेका छन्। प्रदेश नम्बर ६ मा एमालेले ५ र माओवादी केन्द्रले ३ सिट जितेका छन्। प्रदेश नम्बर ७ मा एमालेले ४, कांग्रेसले २ र माओवादी केन्द्रले २ सिट जितेका छन्।

उम्मेदवारी मनोनयनकै क्रममा २४ जना निर्विरोध भएकाले ३२ सिटका लागि मात्रै हिजो बुधवार मतदान भएको हो । तीमध्ये प्रदेश नम्बर ३ र ६ मा मात्रै सबै पदका लागि चुनाव भएको हो । प्रत्येक प्रदेशबाट कम्तिमा तीन महिला, एक दलित र एक अपांगता/अल्पसंख्यक तथा अन्य तीन खुलासहित ८ जना निर्वाचित हुने संवैधानिक प्रावधान छ।

राष्ट्रियसभा निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधित्व गर्ने मतदाताको मतभार १८ तोकिएको थियो।

राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएसँगै संघ, प्रदेश र स्थानीय तहका सभाले पूर्णता पाउने छन् । प्रदेश र स्थानीय तहले यसअघि नै पूर्णता पाइसकेका थिए। संविधानले राष्ट्रियसभा र प्रतिनिधिसभालाई संयुक्त रुपमा संघीय संसद् भनेकाले चुनावको परिणामसँगै त्यसले पूर्णता पाउँछ।

राष्ट्रियसभा निर्वाचन पर्खनुपरेकै कारण निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातितर्फको परिणाम निर्वाचन सम्पन्न भएको दुई महिना भइसक्दासम्म पनि दिन सकेको छैन । संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलले आफूले पाएको सिटको कम्तिमा ३३ प्रतिशत महिला पुर्‍याउर्नैपर्ने संवैधानिक प्रावधान छ।

राष्ट्रियसभा र प्रतिनिधिसभा प्रत्यक्षतर्फको सिट जोड्दा ३३ प्रतिशत पुर्‍याउन नसक्ने दलका हकमा अपुग महिला संख्या समानुपातिक सूचीबाट पुर्‍याउनुपर्ने भएकाले प्रतिनिधिसभाको परिणाम अड्किएको हो।

अब राष्ट्रपति, उपराष्ट्रपति एवम् संघ तथा प्रदेशमा सभामुख, उपसभामुखको निर्वाचन हुनेछ । साथै संसदीय प्रक्रियाअनुसार संघ र प्रदेशमा सरकार गठन गर्न बाँकी छ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनमा ९९ दशमलव ५२ प्रतिशत मतदान भएको जनाएको छ। ६ वटै प्रदेशका १ हजार ६ सय ७७ जना मतदातामध्ये ८ जना अनुपस्थित रहेका थिए।

प्रकाशन मिति–२०७४ साल माघ २५ गते विहीवार ।