काठमाडौ। पूर्व पञ्चहरुको प्रभावशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल वर्तमान सरकारमा नजाने भएको छ। पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा शुक्रबार बसेको केन्द्रीय पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ।

Kamal Thapa.1बैठकले आगामी भदौभित्र स्थानीय तहको निर्वाचन सम्पन्न भएका छ वटा प्रदेशमा अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले भनेका छन्। प्रदेश– १ को झापा, ३ को हेटौँडा, ४ को पोखरा, ५ नेपालगञ्ज, ६ को सुर्खेत र ७ को कञ्चनपुरमा अधिवेशन गरिने र प्रदेश नं २ मा चुनाव पश्चात् अधिवेशन गर्ने निर्णय गरेको छ।

पार्टीका जनवर्गीय संगठनको निर्वाचन आगामी मंसिरभित्र सम्पन्न गर्ने, प्रत्येक गाउँपालिका, नगरपालिका र प्रदेशमा हिन्दूराष्ट्र जागरणसभा आगामी भदौ मसान्तसम्म सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ। आगामी भदौभित्र सातै प्रदेशमा वृहत सनातन धर्म सम्मेलन आयोजना गरिने कार्यक्रम समेत छ।

मुलुकको समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा गरिएको बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन तत्काललाई कायमै राख्ने र उपयुक्त समयमा उचित निर्णय गर्ने समेत जनाइएको छ ।
प्रकाशन मिति–२०७४ साल साउन १३ गते शुक्रबार ।