काठमाडौ। नेपाली समाजमा छोरा र छोरीमा समानताको नारा जतिसुकै आएतापनि त्यो व्यवहारमा अझै लागू हुन सकेको अवस्था छैन्। भन्नलाई त छोरा र छोरीमा खासै फरक नभएको भन्ने गरिएतापनि सामाजिक संस्कारहरुमा छोरालाई जति छुट भएतापनि छोरीलाई छुट नभएको ज्वलन्त उदाहरण यतिखेर सञ्चारकर्मी तथा फोटोग्राफर रेखा शाक्यको पीडावाट देखिएको छ।

Photographer Rekha Shakya
Photographer Rekha Shakya

रेखाले पिताजी राजमान शाक्यको गत बर्ष २०७२ साल चैत्र २९ गते निधन हुंदा छोराले जस्तै पिताजीको धार्मिक संस्कार गर्न खोजेकी थिइन्। दुई दाजुले जस्तै पिताजीको शोकमा कपाल खौरेर छोरा–छोरीको समानतालाई लागू गर्ने कोशिश गरेकी थिइन्।

विडम्वना सामाजिक परम्परामा छोराले जस्तो छोरीले कपाल खौरिन नमिल्ने धार्मिक संस्कार रहेको भन्दै आमा, दिदी तथा फूपुहरु नै यसको विरोधमा देखिएपछि चाहेर पनि कपाल खौरिन रेखाले पाएकी थिइनन्। जसको ठूलो पीडा रेखामा रहेको छ।

त्यसको लागि व्यापक विद्रोह गर्न खोज्दा समाज अवरोध बनेकोले चाहेर पनि कपाल खौरिन नपाएको तथा दाजुहरुले जस्तो संस्कार गर्न नपाएको तितो यथार्थ पोख्ने रेखाले त्यसउप्रान्त पिताजीको देहान्तको एक बार्षिकी नसकेसम्म आफ्नो लामो कपाललाई बाहिर नदेखाउने निर्णय तथा प्रतिवद्धता बमोजिम टोपीभित्र लुकाउंदै आएकी छन्।

आम महिलाले जस्तो ओठमा लिपिस्टिक तथा आँखामा गाजल लगाउने र निधारमा टीका लगाउने कार्य पनि रेखाले गर्न छाडेको पनि बर्ष दिन पुग्न लागिसकेको छ। जुन पिताजीको सम्मानको रुपमा रेखाले लिएकी छन्। छोरालाई जस्तै मृत्यु संस्कार लगायतका सामाजिक संस्कारमा छोरीलाई पनि समानता दिनु आवश्यक छ। छोराले गर्न सक्ने कार्य अवश्य पनि छोरीले गर्न सक्छे भन्ने कुरालाई यो समाजलाई देखाउन भएतापनि यसतर्फ आफू कटिबद्ध भएर लागेको जानकारी पनि उनले दिएकी छन्।
प्रकाशन मिति–२०७३ साल चैत्र २ गते बुधवार ।