काठमाडौ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आह्वान गरेको बन्दका कारण रोल्पाको जनजीवन आज सोमवा बिहानदेखि प्रभावित भएको छ। राससका अनुसार, बन्दका कारण बिहानदेखि रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था ठप्प रहेका छन्।

जिल्ला इञ्चार्ज दलबहादुर खत्री र सेक्रेटरी सन्तोष सुवेदी लगायतका नेता कार्यकर्ता गिरप्तारीको विरुद्ध बन्द आह्वान गरेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले जनाएको छ।सदरमुकाम लिवाङबाट छुट्ने लामो तथा छोटा दूरीका कुनै पनि यातायातका साधन चल्न नसकेको जलजला यातायात व्यवसायी समिति रोल्पाका यज्ञश्वर आचार्यले बताएका छन्।

बन्दका कारण बिहानी कक्षाका लागि क्याम्पस हिँडेका विद्यार्थी घर फर्किएका छन्। सडकमा सो पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति नदेखिए पनि बन्दका कारण जिल्ला ठप्प छ। शनिबार र आइतबार पश्चिम रोल्पामा चुनाव प्रचार प्रसारमा गएका पूर्वअर्थमन्त्री वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार गरिएसँगै जिल्लामा सन्त्रासको वातावरण सिर्जना भएको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक २७ गते सोमवार ।