London Towerलण्डन। बेलायतको लण्डन स्थित ग्रेनफेल टावरमा भएको आगलागीमा परेका अझै ५८ जना हराइरहेको प्रहरीले जनाएको छ । लण्डन प्रहरीका कमाण्डार स्टुअर्ट कण्डीले हराएकाहरु जीवित भेटिने सम्भावना कम रहेकाले ज्यान गुमाउनेको संख्या अझ बढ्न सक्ने बताए।

घटनामा ३० जनाको ज्यान गएको यसअघि नै पुष्टि भएको छ । ज्यान गुमाउनेको संख्या ८० भन्दा बढी हुन सक्ने अनुमान प्रहरीको छ। आगलागीका कारण क्षतिग्रस्त भएको ग्रेनफेल टावरमा खोजी तथा उद्धारको काम भइरहेको र अझै एक हप्तासम्म लाग्ने बताइएको छ।

यसैबीच बेलायती प्रधानमन्त्री टिरेजा मेले आगलागीको सुरुवाति चरणमा पीडितलाई सरकारको तर्फबाट पर्याप्त सहयोग गर्न नसकिएको स्वीकार गरेकी छन्। स्वयम्सेवकसँगको भेटवार्तापछि प्रधानमन्त्री मे ले वक्तव्य जारी गरेर सुरुवाति चरणमा सरकारको तर्फबाट केही कमजोरी भएको स्वीकार गरेकी हुन्।

आगलागीका कारण ग्रेनफेल टावरमा बस्दै आएका मानिस घरबारबिहीन भएका छन् । १ सय २७ फ्ल्याट रहेको २४ तले टावरमा आगलागी भएको हो । (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल असार ४ गते आइतवार ।