Pyaraglaiding In Lamjung Rainaskotकाठमाडौ। लमजुङ जिल्लाको ऐतिहासिक राइनासकोटबाट प्याराग्लाइडिङको परीक्षण कार्य शुरु भएको छ । एक नेपालीसहित पाँच विदेशी पर्यटकले विहीवार राइनासकोटबाट सफल परीक्षण गरेका हुन्।

प्याराग्लाइडिङ गरेका ६ मध्ये तीन जनाले चेपे नदी किनारमा तथा तीन जनाले लमजुङको सुन्दर बजार र गोरखाको लिगलिगका भूभाग घुमेर राइनासकोटमै अवतरण गरेका थिए ।

राइनासकोटमा प्याराग्लाइडिङको सम्भावना राम्रो पाइएको बताइएको छ । मनोरम दृष्य र सुरक्षित अवतरणको अवस्था परीक्षणवाट प्रमाणित भएको स्थानीय पर्यटन व्यवसायीहरुको भनाई रहेको छ। उनीहरुले प्याराग्लाइडिङलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन्।

पछिल्लो समय पोखराबाट प्याराग्लाइड विस्थापन हुने हल्लासँगै नयाँ सम्भाव्यता खोजी भइरहेका बेला राइनासकोटको सम्भाव्यताले व्यावसायिक प्याराग्लाइड गर्नेहरु उत्साहित बनेका छन् ।

विहीवारको सफल परीक्षण गर्ने टोलीले सोही ठाउँबाट तीन दिनसम्म प्याराग्लाइडिङ गर्ने जनाइएको छ । टोलीमा एक नेपालीसहित पाँच फ्रान्सेली छन् ।
प्रकाशन मिति–२०७४ साल असोज २६ गते विहीवार ।