Patan ma Charya Nritya 2ललितपुर । पाटनको यशोधर महाविहार बुबहालमा लोप हुन लागेको परम्परागत चर्या नृत्य प्रशिक्षणको कार्यक्रम सम्पन्न भएको छ। महिला तथा बालबालिका कल्याण सेवा समाज पाटनको आयोजना साथै ललितपुर नगरपालिका अन्तर्गत गरिबी उन्मुख शहरी पुनरुत्थान नमूना परियोजनाको सहयोगमा पाटन बुबहालको दिगी घरमा गत चैत्र महिना देखि ६ महिना सम्म सञ्चालित चर्या नृत्य प्रशिक्षणको समापन भएको हो।

कार्यक्रममा प्रशिक्षार्थीहरुले तारा, कुमारी, बज्रयोगिनी लगायत अन्य विभिन्न चर्या नृत्यहरु प्रदर्शन गरेका थिए । उक्त नृत्य प्रशिक्षण लिन सय भन्दा बढी प्रशिक्षार्थीहरुले आवेदन दिएकोमा ७० जनाले ६ महिना पूरा प्रशिक्षण लिएको हो। उक्त नृत्य माइला गुरुजु, हेमरत्न बज्राचार्य र मिना जोशीले प्रशिक्षण दिएका हुन्। त्यसैगरी समापन कार्यक्रममा बज्रयानी चर्या गीत तथा नृत्य नामको पुस्तक संगै चर्या नृत्य सम्बन्धि बृत्तचित्र र चर्या गीतको सीडी पनि बिमोचन गरिएको थियो।

कार्यक्रममा गुरुहरु, प्रशिक्षार्थी र सहयोगीहरुलाई ज्ञापनपत्र तथा प्रमाण पत्र वितरण गरिएको थियो । सँस्कृतिको संरक्षण गर्ने तथा चर्या नृत्यको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने र युवाहरुको नृत्य दक्षता विकास गर्ने उद्देश्यका साथ उक्त प्रशिक्षण गरिएको कार्यक्रम संयोजक प्रेरणा बज्राचार्यंले भनेकी छन्।

चर्या गीत तथा नृत्यहरु बौद्ध तन्त्र शास्त्रमा आधारित तथा बुद्ध धर्मको बज्रयान निकाय अन्तर्गत पर्दछ । जनमानसमा बोधिज्ञान प्रवाह गर्ने विशुद्ध एवं शसक्त माध्यमको रुपमा पहिले पहिले बोधिसत्वहरुले चर्यागीत र चर्यानृत्य प्रयोगमा ल्याउने र यसका प्रथम रचनाकार, संगीतकार तथा गायक महामञ्जुश्री हुन् भन्ने विश्वास रहेको छ।

Patan ma Charya Nritya 1

तस्वीर सौजन्य–अजय देसार ।

प्रकाशन मिति–२०७४ साल भाद्र १८ गते आइतवार ।