काठमाडौ। नेपालकी राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालीहरुको महान् पर्व बडादसैँ, तिहार, नेपाल सम्वत् र छठका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन्।

bidhyadevibhandari

भण्डारीले आज दिएको सन्देशमा अनेकतामा एकता तथा सबै जातजाति र धर्मावलम्बीको साझा फूलबारीका प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको बताइन।

‘विभिन्न जात जाति, समुदाय, भूगोल र धर्मावलम्बीका विशिष्ट परम्पराहरु हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेका छन्।’ सन्देशमा भनिएको छ – ‘विजयादशमीले हिमाल, पहाड, तराई/मधेस तथा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् आपसी भ्रातृत्व कायम गर्नसमेत सफल रहोस् भन्ने कामना गर्दछु। ’

नेपालको संविधानमार्फत प्राप्त राजनीतिक, संवैधानिक एवम् सामाजिक उपलब्धिको जगेर्ना गर्दै समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न सबैलाई सकारात्मक सोच राखी सत्विचार र सत्व्यवहारमा अग्रसर हुन पनि भण्डारीले शुभकामना व्यक्त गरेकी छन्।

प्रकाशन मिति–२०७३ साल असोज २५ गते मंगलवार ।