SLCकाठमाडौ। विद्यालय शिक्षा सुधार गर्न सरकारले पेस गरेको शिक्षा (आठौं संशोधन) विधेयक, २०७३ लाई व्यवस्थापिका संसद्ले शनिबार सर्वसम्मतले पारित गरेको छ।

यो ऐन पारितसँगै अब विद्यालय तहको संरचना प्रारम्भिक बाल शिक्षादेखि १२ कक्षासम्म हुने भएको छ। कक्षा ८ सम्म आधारभूत शिक्षा र कक्षा ९ देखि १२ लाई माध्यमिक शिक्षा बनाइएको छ। कक्षा १० को अन्तिममा हुँदै आएको प्रवेशिका (एसएलसी) नामको परीक्षा नहुने भएको छ।

माध्यमिक शिक्षाको कक्षा दस र १२ कक्षाको परीक्षा बोर्डले सञ्चालन गर्नेछ। आधारभूत तहको परीक्षा जिल्ला शिक्षा कार्यालयबाट सञ्चालन हुनेछ। त्यस्तै कक्षा दसको अन्त्यमा हुने परीक्षा क्षेत्रीयस्तरमा र आधारभूत तहको अन्त्यमा हुने परीक्षा जिल्लास्तरमा सञ्चालन गरिनेछ।

१२ कक्षा उत्तीर्ण भएपछि प्लस टु गरेसरह हुने नयाँ व्यवस्था छ। अहिले १० कक्षाको परीक्षा सञ्चालन एसएलसी बोर्ड र ११, १२ को परीक्षा उच्च माध्यमिक शिक्षा परिषद्ले लिँदै आएको छ। विधेयकले यो व्यवस्थाको अन्त्य गरी राष्ट्रिय परीक्षा बोर्ड स्थापना गर्नेछ।
प्रकाशन मिति–२०७३ साल जेठ २३ गते आइतवार ।