काठमाडौ। नेपालको स्थानीय निर्वाचनमा काठमाडौ महानगरपालिकाको चुनावलाई नेपालभर मात्र होइन, विश्वभर नै उत्सुकता तथा आकर्षणको रुपमा हेरिएको छ। काठमाडौ महानगरपालिकाको मेयर बन्नका लागि कतिपय मन्त्रीहरुको समेत आकाँक्षा रहेको अवस्थामा नेकपा एमालेले काठमाडौ लगनटोलका स्थानीय तथा निश्कलंक इमान्दार व्यक्तित्व विद्यासुन्दर शाक्यलाई मेयर पदमा उम्मेदवार बनाइएको छ।

Bidhya Sundar Shakya
Bidhya Sundar Shakya

नेकपा एमालेका आदर्शवादी नेता समेत मानिएका विद्यासुन्दर शाक्यले निर्वाचन प्रचार–प्रसारको क्रममा काठमाडौ महानगरपालिकाबासी समक्ष प्रतिवद्धता जाहेर गरेका छन्। विद्यासुन्दर शाक्यले नेपाली र नेपाल भाषालाई महानगरको कामकाजको भाषाका रुपमा प्रचलनमा ल्याइने प्रतिबद्धता पत्रमा प्रतिवद्धता जनाएका छन्।

आफ्नो सम्पदा र संस्कृतिसम्बन्धी आफ्नो कार्ययोजना शुक्रबार सार्वजनिक गर्दै विद्यासुन्दरले नेपालको मौलिक संवतका रुपमा रहेको नेपाल संवतलाई पनि प्रचलनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्। शाक्यको संस्कृति र सम्पदासम्बन्धी प्रतिबद्धतामा वसन्तपुर दरबार क्षेत्र र त्यसको वरिपरिको भित्री सहरी क्षेत्रलाई समेटेर सांस्कृतिक पर्यटकीय सहरको विकास गरिने उल्लेख छ ।

यस्तै नेपालको मौलिक लिपिका रुपमा संयुक्त राष्ट्र सङ्घमा दर्ता भएको रञ्जना लिपिको विकास र प्रयोगलाई प्रोत्साहन गरिने, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र स्थानीय जनतासँगको सहकार्यमा भूकम्पबाट ध्वस्त पुरातात्विक सम्पदा, मठ, मन्दिर, पार्टी, पौवालगायत सांस्कृतिक सम्पदाको यथाशीघ्र पुनः निर्माण गरिने भनिएको छ।

स्थानीय समुदायका जात्रा, पर्व र अन्य सांस्कृतिक क्रियाकलापको संरक्षण र विकास गरिने, महानगर क्षेत्रका सार्वजनिक जग्गा, सत्तल, पाटी, पौवा, मठमन्दिर आदिको संरक्षण गरिने, वाग्मती, विष्णुमती, मनहरा, धोबीखोलालगायत नदीलाई अतिक्रमणमुक्त गरी सफा र सुन्दर बनाइने, नदी किनारमा हरित क्षेत्र निर्माण गरिने र महानगरस्तरीय सांस्कृतिक सङ्ग्रहालयको निर्माण गर्ने विद्यासुन्दरको योजना रहेको छ।

महानगरका ऐतिहासिक पोखरी र धाराको संरक्षण र विकास गरिने, भाषा, साहित्य, कला र संस्कृतिको प्रवद्र्धन गर्न महानगर साहित्य पुरस्कारको स्थापना गरिने तथा टोल टोलमा रहेका भजनमण्डली र सांस्कृतिक समूहलाई संरक्षण गरिने पनि प्रतिबद्धतामा उल्लेख छ।
प्रकाशन मिति–२०७४ साल बैशाख २२ गते शुक्रबार ।