ललितपुर। जस्तोसुकै शारीरिक विषम स्थितिमा पनि चुप लागेर बस्नै नसक्ने अत्यन्त क्रियटिभ सर्जक स्वतन्त्र संसार महर्जनको आयोजनामा यो बर्ष देशकै अग्रणी दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०७९ हुने भएको छ। सर्जक स्वतन्त्र संसार महर्जन अध्यक्ष तथा महाप्रवन्धक रहेको संसार्स अनलाइन टेलिभिजन आयोजक रहेको दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०७९ हुने भएको हो।

चाँडै हुन लागेको यस अवार्डमा मनोनयन भएका ८५ वटा नेपालभाषा म्युजिक भिडियोका सर्जकहरुलाई मनोनयन दर्ता प्रमाण पत्र वितरण गर्ने कार्य भएको छ। पाँच मिनेटको म्युजिक भिडियोका लागि ७० भन्दा बढी विधामा अवार्ड राखेर विश्व रेकर्ड राख्ने दौडानमा रहेको दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०७९ एक ऐतिहासिक नै हुने जिकिर आयोजक स्वतन्त्र संसार महर्जनको रहेको छ।

मनोनयन दर्ता प्रमाण पत्र वितरण समारोहमा अग्रज अभिनेता तथा निर्देशक पवन जोशी, ललितपुर महानगरपालिका वडा नंबर २१ का वडा अध्यक्ष रविन्द्र महर्जन, प्रथम नेपालभाषा चलचित्र पत्रकार विजयरत्न तुलाधर, सशक्त संचारकर्मी विराजकाजी राजोपाध्याय, नेवा पत्रकार राष्ट्रिय दबुका अध्यक्ष सुरजबीर बज्राचार्य लगायतको विशेष आतिथ्यता रहेको थियो। मनोनयन दर्ता प्रमाण वितरण समारोहमा स्वागत भाषण आयोजक समितिका संयोजक प्रेमासंसार महर्जनले गरेकी थिइन्।

प्रकाशन मिति–२०७९ साल असोज १५ गते शनिवार ।