Taiwani Touristकाठमाडौ। नेपालमा वेपत्ता ताइवानी पर्यटक २१ वर्षीय लाइङ सिंङ युनलाई ५५ दिनपछि जीवितै उद्धार गरिएको छ। उनकी प्रेमिका १९ वर्षीया लिउ चेन चुनलाईको भने उद्धार हुन नसक्दा तीन दिनअघि मृत्यु भएको थियो।

नेपाल घुम्न आएका यी ताइवानी जोडी फागुन २० गतेदेखि धादिङको तिप्लीङ क्षेत्रबाट परिवारसँग सम्पर्कपछि वेपत्ता बनेका थिए। वेपत्ता भएको ५५ दिनपछि उनीहरुलाई बुधबार धादिङको रुवीभ्यालीस्थित खोला किनारको ओढारमा स्थानीयले फेला पारेका हुन्।

परिवार र एसियन ट्रेकिङ एजेन्सीको पहलमा स्थानीयबासीलाई प्रयोग गरी खोजी गर्दा खोलाको अप्ठ्यारो ओढारमा बसेको अवस्थामा युवकलाई गम्भीर अवस्थामा र युवती मृत अवस्थामा स्थानीयले बुधबार बिहान फेला पारेका हुन्। स्थानीयले खबर गरेपछि युनलाई एसियन ट्रेकिङ एजेन्सीले उद्धारको पहल गरेको थियो। बाटो बिराएर फसेका उनीहरुलाई सिम्रिक एयरको सहयोगमा पाइलट सिदार्थ जे गुरुङ र गाइड छिरिङ डेन्डुप भोटेले सफलता पूर्वक रेस्क्यू गरेका हुन्।

धादिङको तिप्लिङलगायतका उत्तरी क्षेत्रको दुई हजार मिटरसम्म हिमपात हुदाँ पाङ्गसाङ्ग पासबाट नारचेत खर्क हुँदै सोमदाङ्ग बस्ती झर्न खोज्दा उनीहरु त्याङग्रो भीरबाट हिउँमा चिप्लेर ओढारमा फसेका थिए।
प्रकाशन मिति–२०७४ साल बैशाख १३ गते बुधवार ।