काठमाडौ। इजरायली जेलमा हजारौं प्यालेस्टिनी नागरिक रहेको समाचार एजेन्सीहरुको दावी रहेको छ। लामो जेल जीवनको सजाय भोगिरहेका प्यालेस्टिनीहरु आफ्नी पत्नी गर्भवती भएको र सन्तान जन्माएको खबर जेलमै सुनेर दंग पर्ने गर्दछन्।

कुरा सुन्दै पनि अनौठो लाग्ने यो खवरभित्रको खवर भने बेग्लै रहेको छ। पति जेलमा भएतापनि पत्नीले आफ्नै पतिको बीर्यबाट गर्भधारण गर्ने गरेको खवर रहेको छ। इजरायली जेलमा बन्द रहेका प्यालेस्टिनीका परिवारलाई दुई हप्तामा एक पटक जेलमै भेटघाटका लागि समय दिइन्छ।

४५ मिनेटको उक्त समयभित्र पतिले सन्तानको चाहना पुरा गर्न लुकिछिपी बीर्य उपलब्ध गराउँछन्। लामो समयका लागि जेल सजाय भएका तर सन्तान नभएकाहरुको हकमा विधिवत रुपमै पत्नीलाई बीर्य दान गर्न सकिने प्रावधान छ । यसका लागि पति–पत्नीका साथसाथै परिवारले पनि कागजी प्रक्रिया पुरा गर्नु पर्दछ । यो प्रक्रियाका लागि साक्षीको पनि आवश्यकता पर्दछ ।

चोरीका माध्यमबाट होस् या विधिवत रुपमा पतिको बीर्य हासिल गरिसकेपछि त्यस्ता महिलाले गर्भाधान क्लिनिकमा गएर ‘आइभीएफ’ प्रविधिबाट गर्भाधान गरी सन्तान जन्माउने गर्दछन्। तीन वर्षको अवधिमा ३२ बालबालिका यसरी जन्मिएका छन् । विधिवत रुपमा बीर्य दान गरी जन्माइएकाको तुलनामा जेल प्रशासनको आँखा छलेर लुकिछिपी बीर्य हासिल गरी जन्माइएका सन्तानको संख्या बढ्दैछ।

लुकिछिपी बीर्य ल्याएर जन्माइएका सन्तानको भविष्य अन्योलमै छ। जेलमा रहेका ती कैदीको सन्तानलाई इजरायली कानूनले चिन्दैन। परिणामस्वरुप त्यस्ता बालबालिकाले जेलमा रहेका आफ्ना पितालाई भेट्न पाउने छैनन् । उनीहरुका लागि आधिकारिक दस्तावेज, यात्रा अनुमतिलगायतका कागजात हासिल गर्न निकै चुनौती सामना गर्नुपर्ने जस्ता समस्या देखिन थालेको छ।

(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल फागुन २४ गते विहीवार ।