काठमाडौ। संयुक्त बाम गठवन्धन काठमाडौव्दारा आयोजित बृहत बधाई ज्ञापन कार्यक्रम संपन्न भएको छ। काठमाडौको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बाम गठवन्धनका नेता तथा कार्यकर्ताहरुको खचाखच सहभागिता रहेको थियो। कति नेता तथा कार्यकर्ता हलभित्र ठाउं नपाएर सभागृह बाहिरको बगैचामा नै बसेर आफ्ना नेताहरुका जोसिला भाषण सुन्नमा मक्खै परेका थिए।

पुषको पारिलो घाममा आफ्ना नेताहरुका गहकिला कुरा सुन्नमा सवै एकतमासले रमाए। संयुक्त बाम गठवन्धन काठमाडौका संयोजक काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गहकिला शव्द सहित काठमाडौका प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यका विजयी नेताहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेर सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनमा कुनै संवैधानिक जटिलता नभएको बताएका छन्। ओलीले सरकार गठन प्रतिनिधिसभाको काम भएको भन्दै केही दिनमै नयाँ सरकार बन्ने दाबी गरे। उनले सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश गैरसंवैधानिक भएको भन्दै राष्ट्रपतिलाई विवादमा नतान्न चेतावनी पनि दिए।

कामचलाऊ सरकार र सरकारका मन्त्रीहरुलाई नैतिक सीमाभित्र बस्न र हैसियत बुझेर बोल्नसमेत उनले चेतावनी दिए। उनले अब बन्ने सरकारले भ्रष्टाचारमा संलग्न राजनीतिज्ञ, कर्मचारी र व्यापारी कसैलाई नछाड्ने भन्दै भ्रष्टाचारविरोधी अभियान चलाउने पनि बताए।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कांग्रेसले आफू सत्तामा भइन्जेलमात्रै लोकतन्त्र देख्ने भन्दै कानुनी जटिलता झिकेर सत्ता हस्तान्तरणमा व्यवधान गरे कांग्रेसले थप अनिष्ट व्यहोर्नुपर्ने चेतावनी दिए। कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले युगको मागअनुसार वाम गठबन्धन अघि बढ्ने र मुलुकको विकास निर्माणमा लाग्ने बताए।

काठमाडौका विजयी प्रतिनिधिसभा तथा प्रदेशसभाका सभासदहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सम्मान पत्र प्रदान गरेका थिए।


प्रकाशन मिति–२०७४ साल पुष ५ गते बुधवार।