काठमाडौ। नेपालको राजधानी काठमाडौ शहरका सडकका खम्बामा अव्यवस्थितरूपमा टाँगिएका केबल र टेलिफोनका तारलाई व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणले तार आइतवारवाट काट्न शुरु गरेको छ।

Tar katiyoबिजुलीका तार, टेलिफोनका तार र अन्य केबलका तारसमेत एउटै खम्बा (पोल)मा राखिएको हुँदा शहर अत्यन्त कुरुप देखिएको, असुरक्षा बढ्दै गएको र राजश्वसमेत हिनामिना भएको भन्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले माइतीघरस्थित खम्बामा टाँगिएका अव्यवस्थित तार काटेर त्यसको शुरुवात गरेका हुन् ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले एशियन डेभलभमेन्ट बैंकको सहयोगमा ऊर्जा मन्त्रालयले जमिनमुनि तार विछ्याउने प्रयास अगाडि बढाइरहेको छ र सडक फराकिलो बनाउनेबारे पनि छलफल भइरहेको तार काट्ने क्रममा भनेका छन्।

यसअघि सञ्चार मन्त्रालयले सम्बन्धित निकायलाई बोलाएर तार पहिचान गर्न र व्यवस्थित गर्न भने पनि व्यवस्थित भएको थिएन । वैधानिकताको दायराभित्र नआएसम्म तार काट्ने अभियानलाई देशैभरि सञ्चालन गर्ने मन्त्री बस्नेतको भनाइ छ। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले तार एकै ठाउँमा गन्जागोल हुँदा धेरै ठाउँमा असुरक्षा हुने, बाटोमा मोटरसाइकल तथा गाडी हिँड्दा बेरिएर दुर्घटना हुने भएकाले पनि केबल र टेलिफोनका तार हटाउनुपरेको बताएका छन्।

अहिले ती तार काटेर एकै ठाउँमा व्यवस्थित गर्ने र भविष्यमा त्यसलाई जमिनमुनिबाट व्यवस्थित गर्ने प्राधिकरणको योजना रहेको छ । जमिनमुनि तार बिछ्याउनका लागि प्राधिकरणले बजेटको समेत व्यवस्था गरेको छ।
प्रकाशन मिति–२०७४ साल भाद्र १८ गते आइतवार ।