काठमाडौ। नेपाल सरकारले आइतवार नियुक्त गरेका सशस्त्र प्रहरीको आइजीपी सिंहबहादुर श्रेष्ठको नियुक्ति विवादरहित बनेको छ। नेपाल प्रहरीको आइजीपीमा नियुक्त बनेका जयवहादुर चन्द व्यापक विवादास्पक र चर्को आलोचनाको शिकार बरिहेको बर्तमान अवस्थामा रोलक्रममा पहिलो नंबरमा परेका सशस्त्र प्रहरीका आइजीपीमा नियुक्त बनेका सिंहबहादुर श्रेष्ठको राम्रो चर्चा चल्न थालेको छ।

Singh Bahadur Shrestha

काठमाडौँको डिल्लीबजारमा वि.सं.२०१९ साल फागुन १५ गते बुबा केशव श्रेष्ठ र आमा सेती श्रेष्ठको कोखबाट जन्मिएका सिंहबहादुरले वि.सं.२०४४ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन्। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठलाई आइतबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको महानिरीक्षक आइजीपी पदमा बढुवा गरेको हो।

श्रेष्ठ वि.सं.२०७१ असोजमा सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका थिए। श्रेष्ठ वि.संं. २०५८ साल वैशाखमा नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए। मंगलबारबाट आइजीपीको जिम्मेवारी सम्हाल्न लागेका श्रेष्ठले यसअघि सशस्त्र प्रहरी बल प्रधान कार्यालय प्रशासन विभाग, मानवश्रोत विकास विभाग, कार्य विभाग, सशस्त्र प्रहरी प्रधान कार्यालय मद्दती तथा सेवा निर्देशनालय, सुरक्षा महाशाखा लगायत सशस्त्र प्रहरी बलका बाहिनी, गण लगायतको कार्यालयमा प्रमुख भइ काम गरिसकेका छन्।

श्रेष्ठले यसका अतिरिक्त युएन मिसनमा इष्टटिमोर र पूर्व युगोस्लाभिया पुगेर समेत काम गरेका छन्। श्रेष्ठसँग चीन, अमेरिका, श्रीलंका, भारत, इटाली, इष्टटिमोर, पूर्वी युगोस्लाभियालगायत विभिन्न राष्ट्रको भ्रमण गरेका छन्। आइजीपी श्रेष्ठले प्रहरी अधिकृत विशेष तालिम, भिआईपी, अपराध अनुसन्धान, कमाण्ड, निग्रानी तथा परिवेक्षण, विशेष शस्त्र तथा युद्धकला, नेतृत्व तथा व्यवस्थापन, जिपीएस, रोल अफ इन्टेलिजेन्स, ल अफ आम्र्ड कन्फ्लीक्ट कोर्ष, सेक्युरिटी सेक्टर रिफम्र्स एण्ड फेडरलिजम, टेरोरिजम इन्टेलीजेन्स एनालाईसिस अमेरिका, गभर्नेन्स एण्ड म्यानेजमेन्ट अफ डिफेन्स कोर्ष श्रीलंका, एपीसीएसएस एण्ड सीएसआरटी ट्रेनिङ अमेरिका, आईएचएल इटाली, सिनियर क्राईसिस म्यानेजमेन्ट सेमिनार अमेरिका र डिफेन्स एण्ड इष्ट्राटेजिक स्टडी कोर्ष चीन लगायत बिभिन्न व्यावसायीक तालिम हासिल गरेका छन्।

प्रहरी सेवामा प्रवेश गरेर उत्कृष्ट काम गरेका श्रेष्ठले दर्जनौ पुरस्कार समेत पाएका छन्। सुप्रबल जनसेवाश्री तेस्रो, दुर्गम सेवा पदक, प्रदेश सेवा पदक, युएन सेवा पदक, गद्दिआरोहण रजत पदकलगायतका विभिन्न मान पदवी, अलंकार, पदकबाट सम्मानित बनेका छन्।
प्रकाशन मिति–२०७३ साल फागुन १ गते आइतवार ।