काठमाडौं। काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताललाई सिद्धार्थ बनस्थली स्कूलका पूर्व विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । सिद्धार्थ बनस्थली स्कूल ४७ साल ब्याच समूहले अस्पतालमा अक्सिजन प्लान्ट राख्नको लागि डेढ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।

बुधबार अस्पताल परिसरमै पुगी पूर्व विद्यार्थीहरुको समूहले उक्त रकम बराबरको चेक अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई हस्तान्तरण गरे। सो अवसरमा अस्पतालका अध्यक्ष डा. श्रेष्ठले सहयोगको लागि कृतज्ञता पोख्दै संक्रमितलाई स्तरीय स्वास्थ्य सेवा दिन अस्पताल अहोरात्र खटिरहेको जानकारी दिएका छन्। । विरामीलाई उपचारको साथमा खाना, औषधीसमेत निःशुल्क उपलब्ध गराइएको डा.श्रेष्ठले खुलासा गरेका छन्।

सिद्धार्थ वनस्थलीका पूर्व विद्यार्थीहरुको समूहबाट देशका विभिन्न स्थानमा सहयोग गर्दै आएकोमा त्यसैको निरन्तरताकै क्रममा डा. सोना श्रेष्ठ, डा. निरज श्रेष्ठ, डा. मिरु गुरुङ र डा. सपना श्रेष्ठको अगुवाईमा काठमाडौंको भित्री वस्ती क्षेत्रपाटी आइपुगेको भनिएको छ। हस्तान्तरण कार्यक्रममा पूर्व विद्यार्थी समूहका दीपक जोशी, दिपिन श्रेष्ठ, सरल प्रधान, निरन्जन श्रेष्ठ, सर्जु श्रेष्ठ, राजिव श्रेष्ठ, प्रमोद सुवाल र भुपेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

प्रकाशन मिति–२०७८ साल जेठ २७ गते विहीवार ।