लण्डन। स्कटल्याण्डको एडिनबर्गमा नेपाली समर पार्टी नाइट २०१६ संपन्न भएको छ। नेपाली लोकदोहोरी तथा नृत्यलाई विशेष प्राथमिकता सहित आयोजना भएको समर पार्टी भव्य तथा सभ्य भएको आयोजक नेपाल स्कटल्याण्ड युथ ग्रुपका सदस्य विजय डंगोलले बताएका छन्। आयोजक युथ ग्रुपका सदस्यहरु विजय डंगोल, कमला श्रेष्ठ, भरत गुरुङ्ग, रमेश भण्डारी र आशिष पुनको कार्यक्रम संयोजनमा समर नाइट कार्यक्रम संपन्न भएको हो।

Summer Party in UKबेलायतका लागि कार्यवाहक नेपाली राजदूत तेजवहादुर क्षेत्री र नेपालका बरिष्ठ लोकदोहोरी गायक बमबहादुर कार्की तथा लोकदोहोरी गायिका शिवा आलेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो। तीनैजना प्रमुख अतिथिहरुलाई नेपाल स्कटल्याण्ड युथ ग्रुप तथा नेपाल स्कटल्याण्ड एशोसियसनकी महासचिव शर्मिली लामाले खादा ओढाएर सम्मान प्रदान गरेकी थिइन्।

लोकदोहोरी गायक बमबहादुर कार्की र गायिका शिवा आलेले पानको पात जस्ता चर्चित गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए। स्कटल्याण्डकै स्थानिय दोहोरी गायक रमेश भण्डारी तथा दोहोरी गायिका कमला श्रेष्ठको गायनको रोमाञ्चक प्रस्तुतिले माहोललाई अझ गरमागर्मी बनाउन सफलता प्राप्त गरेको थियो।

बिजय डंगोलको कार्यक्रम प्रस्तुति अनि नृत्यङ्गना रुबी श्रेष्ठको नृत्य र साजिन श्रेष्ठको गीत बाट सुरु भएको उक्त कार्यक्रम को समापन भने DJ पोखरेली कान्छा को धुनहरुमा भएको थियो।
प्रकाशन मिति–२०७३ साल साउन २ गते आइतवार ।