Home Ministerकाठमाडौ। बैशाख ३१ गते आइतवार हुने स्थानीय निर्वाचनका लागि गृह मन्त्रालयले सम्पूर्ण सुरक्षा प्रबन्ध गरिसकेको जनाएको छ। मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गरेर सम्पूर्ण सुरक्षा प्रबन्ध गरिएको बताएको छ।

मन्त्रालयले आइतबार हुने पहिलो चरणको स्थानीय निर्वाचनका लागि देशभर झन्डै ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको खुलासा गरेको छ। शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न अत्यावश्यक अवस्थामा नेपाली सेनालाईसमेत खटाइनेछ।

पत्रकार सम्मेलनमा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचनका लागि ६७ हजार ९ सय १६ सुरक्षाकर्मी परिचालन गरिएको भन्दै सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदान गर्न आग्रह गरे।

गृहमन्त्री निधिले मतदानस्थलहरुलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरेर छुट्याइएको र सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको जानकारीसमेत दिए। मन्त्रालयले २२ हजार ५ सय ७५ नेपाल प्रहरी, १७ हजार ३ सय ५६ सशस्त्र प्रहरी परिचालन गरेको छ।

३ सय ८३ राष्ट्रिय अनुसन्धान विभागबाट र २२ हजार ६ सय २ म्यादी प्रहरी परिचालन गरिएको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयले सुरक्षाकर्मीले मतदाता सुरक्षाका लागि हवाईगस्ती र पैदलगस्ती गर्ने पनि जनाएको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख ३० गते शनिवार ।