Kumar Phudungकाठमाडौ। महिलाको हत्याको आरोपमा माओवादीका पूर्वसभासद एवं नेपाली सेनाका पूर्वजर्नेल कुमार फुदुङ पूर्वीनेपालको सुनसरी स्थित इटहरीमा निर्घात कुटिएका छन्। आफ्नो घर–पसिरमा मारिएकी महिलाको विषयमा फुदुङले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मंगलबार स्थानीयले उनीमाथि कुटपिट गरेका हुन्। कुटपिटबाट फुदुङको टाउको फुटेको छ।

इटहरी–४ स्थित उनको घर रहेको विशाल बगैंचाबाट सोमबार एक महिला मृत अवस्थामा फेलापरेकी थिइन् । बगैंचामा माछापाल्ने पोखरीछेउबाट ३० वर्षीया रन्जु ठकुरीको शव भेटिएको थियो । स्थानीयवासीले महिलाको शव भेटिएको विषयमा जवाफ माग्दा ‘जवाफ खोज्न अदालत जानू’ भन्ने ठाडो जवाफ दिएको भन्दै स्थानीय आक्रोशित भएका थिए।

आक्रोशित स्थानीयवासीले फुदुङलाई पक्राउ गर्न माग गरेका थिए । तर, प्रहरीले फुदुङलाई पक्राउ नगरेपछि स्थानीयले फुदुङको घर पुगेर उनलाई कुट्दै नियन्त्रणमा लिएका हुन् । त्यसपछि प्रहरीले उनको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य संस्था पुर्‍याएका थिए। इटहरी–४ माफुदोङको ठूलो क्षेत्रफलमा फैलिएको बगैंचाभित्र फुदुङको घर रहेको छ।

उक्त ठाउँमा केही समयअघि मनशान्त रिसोर्टसमेत सन्चालनमा ल्याइएको थियो। उक्त रिसोर्टमा काम गर्ने महिला सोमबार मृत भेटिएकी हुन्। पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटिएको भएपनि स्थानीयले भने फुदुङमाथि हत्याको आरोप लगाएका छन्।
प्रकाशन मिति–२०७४ साल असार १३ गते मंगलवार ।