काठमाडौ। नेपाली चलचित्रका प्रमोसनल प्याकेज पनि अचेल हलिउड स्टाइलमा हुन थालेको छ। चलचित्र चलेपनि–नचलेपनि चलचित्रको चर्चाको लागि नेपालमा पनि प्रमोसनल प्याकेजको स्टण्ड नै हुन थालेको छ।

कुनै बेला नेपालका सुपरस्टार भुवन केसीले आफ्नो चलचित्रको प्रमोसन स्टण्डका लागि आफैले आफैलाई एडस लागेको भन्न नचुकेको नेपाली फिल्म इण्डष्ट्रीजमा  नयाँ चलचित्र रोमियो एन्ड मुनाको एउटा गीत रिलिजका लागि बोलाईएको पत्रकार भेटघाट कार्यक्रममा भाडाका दुई युवतीलाई बिकनीमा प्रस्तुत गरिएको पर्दाफास भएको छ।

नेपालको चर्को चिसोमा अभिनेता बिनय श्रेष्ठ भाडाका दुई युवती (जो सो चलचित्रका कलाकार होइन) संग बिकिनीमै अँकमाल गरेर प्रस्तुत हुंदा हंगामा नै भएको छ। अपत्यारिलो तरीकाले काठमाडौको कमलादी स्थित राईजिङ मलको क्युज सिनेमा हलको सभा मञ्चमा बिहिबार बेलुका ४ः३० बजे तिर भएको त्यस कार्यक्रममा नायक विनय श्रेष्ठ विना पानी दुई भाडाका बिकनी गर्ल लिएर प्रस्तुत हुंदा त्यस चलचित्रले देखाउन खोजेको र भन्न खोजेको कुरा सवैलाई कौतुहल हुनु स्वभाविक नै हो।

कतिले त्यसको बारेमा निर्माण पक्षलाई स्पष्ट हुन भनेपछि चलचित्रमा त्यसप्रकारको दृश्य भएकोले नयाँपन दिन पत्रकार सम्मेलनमा त्यसरी प्रस्तुतिकरण गरिएको भनियो। जसलेगर्दा गर्नेलाई भन्दा हेर्नेलाई गाह्रो भएको प्रतिक्रिया पनि देखियो। अग्रज रंग पत्रकार डब्बु क्षेत्रीले यस्तै हो भने भोलि फिल्ममा बेडसिन छ भन्दैमा पत्रकार सम्मेलनमा पनि बेडसिन गरेर देखाउने पो हो कि भनेर आशंका गरेका छन्।अर्का चर्चित पत्रकार दर्शनवीर शाक्यले मर्दर सिनमा मर्दर गरेर पत्रकार सम्मेलन गर्नुपर्ने जस्ता विकृत शैली पनि आउन सक्ने भएकोले यस्ता पब्लिसिटी स्टन्ट राम्रो नहुने भनेका छन्। चलचित्र पत्रकार संंघका निवर्तमान अध्यक्ष शान्तिप्रियले यसलाई छाडापनको उपमा नै दिएका छन्।

यसरी पत्रकार सम्मेलनमा प्रस्तुत हुँदा लोक लाजको पनि ख्यार राख्नुपर्ने हो भनेर पत्रकार क्षेत्रीले टिप्पणी गरेका छन्। चलचित्र चलाउने नाममा गरिदैआएको र नयाँ कुराको नाममा यसप्रकारले गरिन थालेको फिल्म प्रमोसनले फिल्मलाई क्षणिक चर्चा दिलाएतापनि दीर्घकालिन प्लस भने दिदैन। अझ यसले नेगेटिभ प्रभाव पार्न सक्ने प्रचुर संभावना देखिएको छ। यसतर्फ निर्माण पक्ष सजग हुनु अत्यन्त आवश्यक रहेको छ।


प्रकाशन मिति–२०७४ साल मंसीर २९ गते शुक्रबार ।