काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि प्रधानमन्त्री ओलीले सोमबार दोस्रोपटक नेकपा एमाले र माओवादी केन्द्रबाट दुई–दुईजनालाई सरकारमा सामेल गरेका हुन्।

नेकपा एमालेबाट महासचिव ईश्वर पोखरेल–रक्षा र डा. युवराज खतिवडा–अर्थमन्त्री बनेका छन्। माओवादी केन्द्रबाट रामबहादुर थापा बादल–गृह र मातृका यादव–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन्। यससमेत गरेर मन्त्रिपरिषद सात सदस्यीय बनेको छ ।

प्रधानमन्त्री ओलीले आफूले शपथ लिएकै दिन तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारै राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा प्रधानमन्त्री ओलीको उपस्थितिमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् ।

प्रकाशन मिति–२०७४ साल फागुन १४ गते सोमवार ।