झापा । झापाको बिर्तामोडमा प्रहरीले चलाएको गोली लागेर शुक्रबार एकजनाको मृत्यु भएको छ भने अरु दुई दर्जनभन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिकाका नरेश थापा रहेका छन्। अरु तीनजना घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ।

Jhapa movement 2अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको शंकास्पद मृत्युलाई लिएर शुक्रबार बिहानैदेखि बिर्तामोड क्षेत्र तनावग्रस्त बन्दै आएकोमा अपराह्न स्थानीय प्रशासनले कर्फ्यु लगाएपछि स्थानीय आक्रोशित बनेका हुन्। कर्फ्यु उल्लंघन गरी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले प्रहरीचौकीमा आगजनी गर्ने तथा सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि गोली चलाउनुपरेको प्रहरीले दाबी गरेको छ। प्रदर्शनकारीको आक्रमणबाट केही प्रहरीसमेत घाइते भएको पनि प्रहरीको दाबी रहेको छ।

बालकको मृत्युको अनुसन्धानलाई प्रहरीले गम्भीररुपमा नलिएको भन्दै स्थानीय वासिन्दाले प्रदर्शन गर्दै आएका थिए भने दिउँसोदेखि प्रशासनले बिर्तामोड क्षेत्रमा कर्फ्यु लगाएको छ । आन्दोलनकारी र प्रहरीबीचको झडप हिंसात्मक हुँदै गएपछि स्थितिलाई सामान्यकीकरण गर्न स्थानीय प्रशासनले बिर्तामोड, मुक्तिचोकको दुई किलोमिटर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।

शुक्रबार दिउँसो साढे १ बजेपछि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताएका छन्।। प्रशासनले बिर्तामोड पूर्व बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने, उत्तरमा महानन्दचोक र दक्षिणमा बिर्ताबजारसम्मलाई निषेधित क्षेत्र घोषणा गर्दै कर्फ्यु लगाएको छ। शुक्रबारै बालक लक्ष्मण ‘हत्या’को विरोधमा निकालिएको र्‍यालीमा झडप हुँदा प्रहरीले तीन राउन्ड हवाई फायर गरेको थियो।

भीड नियन्त्रण गर्न प्रहरीले दुई दर्जनभन्दा बढी सेल अश्रुग्यास पनि प्रहार गरेको थियो। प्रहरीले आन्दोलनमा उत्रिएकामध्ये केहीलाई नियन्त्रणमा लिएको जनाएको छ । बडादसैंको टीकाका दिन हराएका बालक लक्ष्मणको शव भोलिपल्ट बिर्तामोड–१ वैैसावाडीस्थित पोखरीमा डुबेको अवस्थामा फेलापरेको थियो। परिवारले लक्ष्मणको हत्याको आशंकामा तीनजनाविरुद्ध किटानी जाहेरी दिएको थियो। प्रहरी अनुसन्धानप्रति रुस्ट भएका परिवार र स्थानीय आन्दोलनमा उत्रिएका हुन्।

Jhapa movement 1प्रकाशन मिति–२०७४ साल कात्तिक १० गते शुक्रबार ।