काठमाडौं । १२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा दुई मन्त्री वीच छलफल भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा वीच १२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा छलफल भएको हो।

मंगलबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेर शिक्षामन्त्री पौडेलले स्वास्थ्यमन्त्री खतिवडासँग छलफल गरेका हुन्। मन्त्री पौडेलले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह गरेका थिए।

बालबालिकालाई विद्यालयमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले त्यसका लागि समन्वय गर्न मन्त्रालय तयार रहेको बताएका थिए ।
छलफलपछि स्वास्थ्य मन्त्री खतिवडाले १८ वर्षमुनिका बालबालिकाको लागि १ करोड डोज खोप ‘बुक’ भइसकेको जानकारी दिँदै आउने वित्तिकै विद्यार्थीेलाई दिइने भनेका छन् । मन्त्री खतिवडाले ३ करोड २० लाख डोज खोप पाइपलाइनमा रहेको पनि जानकारी दिएका छन्।

१२ वर्षभन्दा मुनिका बालबालिकालाई डब्लूएओले कोरोना विरुद्धको खोप लगाउन स्वीकृति दिएको छैन । १२ वर्षमाथिका बालबालिकाका लागि १ लाख डोज खोप आएकाले लगाउने काम भइरहेको मन्त्री खतिवडाले बताएका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १२ सम्मका ६७ लाख ५१ हजार ४ सय ४९ जना विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्नेछ । जसमा ५ देखि ९ वर्ष उमेर समूहका ३१ लाख ९ हजार १ सय ७५ रहेका छन् । ९ देखिमाथि उमेर समूहका ३६ लाख ४२ हजार २ सय ७४ जना रहेको छ।

प्रकाशन मिति–२०७८ साल मंसीर ७ गते मंगलवार ।