–नारायण लिंखा देवान
ललितपुर । ललितपुर महानगरपालिकाको शान तथा गौरबको रुपमा रहेको वडा नंबर ५ स्थित महालक्ष्मी मन्दिर परिसरमा चैते दशैं पूजा संपन्न भएको छ। करिब २३ बर्ष पछि महालक्ष्मी मन्दिर परिसरमा चैते दशैं पूजा संपन्न भएको हो।

सनाःगुठी थति टोलको आयोजना तथा पहलमा महालक्ष्मीस्थान मन्दिर परिसरमा चैते दशैको अवसरमा मंगलवार भव्य रुपमा पूजा संपन्न भएको छ। थति टोल गुठीका मूलनाइके सानुभाइ देउलाको अध्यक्षतामा पूजा कार्यक्रम भएको हो।

पूजामा गुठीवाट ल्याइएका श्रीगणेश, श्रीभैरब, श्रीकुमारी लगायतका विभिन्न देवीदेवताका मूर्तिहरु महालक्ष्मी मन्दिरमा राखेर विशेष पूजाआजा गरेर थति टोलमा नै फर्काइएको थियो। बाजागाजा सहित भएको रौनकपूर्ण कार्यले धार्मिक संस्कृतिलाई संरक्षण गर्न मदत गर्ने कार्य भएको थियो।

उक्त कार्यक्रममा ललितपुर महानगरपालिका वडा नंबर ५ की वडा सदस्य पूनम निरौलाको विशेष उपस्थिति थियो। महालक्ष्मी मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरु लगायत भजन उपदेशक कुबेर केसीको विशेष सहभागिता थियो। भजन उपदेशक कुबेर केसीले भजन गायन प्रस्तुति दिएका थिए।

कार्यक्रमको रौनकता थप्न नाटेश्वर युवा क्लव, धिमे खलः परिवारले विशेष मदत गरेको थियो। सनाःगुठी थति टोलका नाइकेहरु सानुभाइ देउला, ज्यापुचा देउला, बाबुराजा देउला, रामवहादुर देउला, बालकृष्ण देउला, तीर्थ देउला, कुमार देउला र सानु देउलाको पहलवाट २३ बर्ष पछाडि चैते दशैं महालक्ष्मीस्थानमा भएको जनाइएको छ।

प्रकाशन मिति–२०७८ साल बैशाख ७ गते मंगलवार ।