काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दोश्रो चरणको मंसीर २१ गते हुने गैरहेको निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवारहरुको अन्तिम सूची निर्वाचन आयोगले प्रकाशन गरेको छ।

अन्तिम नामावलीअनुसार गत मंसीर १६ गते मनोनयन दर्ता गरेका ४ हजार ७४७ उम्मेदवार मध्ये २६४ जना उम्मेद्वारको सूचीवाट हटेका छन्। २६४ जनामध्ये ४ जनाको उम्मेद्वारी खारेज, २ जनाको उम्मेद्वारी रद्द र २५८ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ। तर, दास्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाको सम्पूर्ण विवरण आइनसकेकाले थप विवरण आउन बाँकी रहेको निर्वाचन आयोगले भनेको छ ।

दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको कार्यतालिकाअनुसार निर्वाचन आयोगले आइतबार उम्मेदवारको नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह वितरण गरेको हो । आयोगले साँझ ६ बजेभित्र सम्पूर्ण उम्मेदवारलाई निर्वाचन चिन्ह दिइसकेको छ।

यसैबीच, निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न भएको पनि जनाएको छ । पहिलो चरणमा निर्वाचन हुने १३ जिल्लामा छपाइ गरिसकेका मतपत्र ढुवानी गरिसकेको समेत आयोगले भनेको छ ।
प्रकाशन मिति–२०७४ साल कात्तिक १९ गते आइतवार ।