काठमाडौ। विश्वकै होचो कलाकारको दावी नेपालवाट भएको छ। नेपालका अत्यन्त होचा कलाकार दीपेन शाहले उक्त दावी गरेका हुन्। यसका लागि कलाकार शाहले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा आफ्नो दावी प्रस्तुत गरिसकेका छन्।

जन्मदा २ सय ग्रामका यी कलाकार यतिखेर १९ बर्ष पुगिसकेका छन्। दीपेनको तौल अहिले ११ केजी र उचाइ ३१ इन्च छ। होचापुड्का कलाकारहरू अभिनीत चलचित्र सारथीमार्फत अभिनय यात्रामा लागेका दीपेन हांस्य टेलिचलचित्र छेउ न टुप्पो तथा झ्याइँकुटी झ्याइँमार्फत दर्शकको मनमा बसेका थिए । यी टेलिचलचित्र मार्फत उनी दीपेन सरको नामवाट चिनिएका हुन्।

दोलखाको भीमेश्वर नगरपालिकामा जन्मेका दीपेन जन्मदा हत्केलामा अटाउने साइजको मात्र भएको दीपेनका बाबु दीपक शाहले भनेका छन्। सुरुमा दीपेनको उचाई तथा तौलवाट आमा धनकुमारी अत्यन्त चिन्तित बनेकी थिइन्। पछि छोराले कलाकारिता मार्फत नाम कमाएपछि उनको चिन्ता भने कम भएको छ। दीपेनका दुई दिदी र एक दाजुको उचाइ भने औसत नेपालीकै छ।

दीपेनको गिनिज बुकमा नाम लेखाउनको लागि पहिलो चरणको सवै डकुमेन्ट पठाउने कार्य भैसकेको र त्यसको भेरिफिकेसन पनि प्राप्त भैसकेको बताइएको छ। संभवत आगामी तीन महिनाभित्र दीपेन विश्वकै होचा कलाकारको रेकर्डमा गिनिज बुकमा नाम लेखेर आउने जिकिर शिखर नेपाल नामक संस्थाका अध्यक्ष शेखर खनालको जिकिर रहेको छ।

कलाकार दीपेनको गिनिज बुकमा नाम लेखाउनको लागि दीपेन फाउण्डेसन र शिखर नेपाल दुवै संस्था संयुक्त रुपमा क्रियाशील बनेर लागिपरेका छन्। यता भने, गिनिज बुकमा आफ्नो नाम लेखिएपछि विवाह गर्ने सोच कलाकार दीपेन शाहले राखेका छन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक १३ गते सोमवार ।