काठमाडौ। बलिउडकी सुपरस्टार नायिका श्रीदेवी कपुरको दुःखद निधन भएको छ। ५४ वर्षीया श्रीदेवीको हर्टअटेकका कारण निधन भएको हो।

दुबईमा आयोजित विवाह समारोहमा सहभागी बनिरहेको बेला श्रीदेवीलाई को हर्टअटेक भएको हो।श्रीमान् बोनी कपूर र छोरी खुशीका साथ विवाह समारोहमा सहभागी बनिरहेको बेला श्रीदेवीलाई अचानक हर्टअटेक भएको भारतीय समाचार माध्यमहरुले जनाएको छ।

श्रीदेवीले तमिल, तेलेगु, मलायाम, कनादा र हिन्दी चलचित्रमा अभिनय गरेकी थिइन्। उनी बलिउडकी अत्यन्त चर्चित नायिक थिइन्। सन् १९७८ मा चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनले ३ सय वटा चलचित्रमा काम गरिसकेकी थिइन्।

सन् १९९७ मा चलचित्र ‘जुधाई’मा अभिनय गरेपछि उनी चलचित्र क्षेत्रबाट करिब १५ वर्ष बाहिरै बसेकी थिइन्। सन् २०१२ मा ‘इङ्लिस विङ्लिस’ बाट पुनः चलचित्र क्षेत्रमा पुनरागमन गरेकी श्रीदेवीलाई भारतीय सरकारले सन् २०१३ मा पद्माश्री अवार्डबाट विभूषित गरेको थियो।

सन् २०१७ मा श्रीदेवीको चलचित्र ‘माम’ रिलिज भएको थियो। श्रीदेवीको यो रिलिज भएको ३०० औं तथा अन्तिम चलचित्र हो।

प्रकाशन मिति–२०७४ साल फागुन १३ गते आइतवार ।