काठमाडौं। अब नेपालमै कलेजो प्रत्यारोपण हुने भएको छ। मानव अङ्ग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणको बाटो खुला गरेसँगै अब स्वास्थ्य मन्त्रालय अन्तर्गत मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले कलेजो प्रत्यारोपण सुरु गर्नेछ।

kalejo

कलेजो प्रत्यारोपणका लागि केन्द्रले डेढ वर्ष पहिले नै चिकित्सक तथा नर्सलाई तालिमका लागि विदेश पठाएको थियो। स्वास्थ्य मन्त्रालयले ल्याएको नियमावलीले कलेजो प्रत्यारोपणसँग ब्रेन डेथबाट मृत्यु भएकाको आठवटा अङ्ग लिने र प्रत्यारोपण गर्ने बाटोसमेत खुला गरेको छ।

नेपालका कलेजो रोगीले कलेजो प्रत्यारोपण गर्न चाहे पनि नियमावली तथा प्रत्यारोपण सुविधा नभएका कारण विदेशमा गई करोडौँ खर्च गरेर प्रत्यारोपण गर्दै आएका थिए। मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले कलेजो प्रत्यारोपणका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए।

डा. श्रेष्ठले केन्द्रले केही समयमै कलेजो प्रत्यारोपणसम्बन्धी विदेशबाट विज्ञ चिकित्सक टोली आएपछि नेपालमै कलेजो प्रत्यारोपण गर्न सकिने जानकारी पनि दिए। केन्द्रका कार्यकारी निर्देशक डा। श्रेष्ठले मानव अङ्ग प्रत्यारोपण नियमावलीले ब्रेन डेथ भएकाको अङ्ग निकाल्न र कलेजो प्रत्यारोपण गर्न खुला गरेर थप उत्साहित बनाएको जानकारी पनि दिए।

कलेजो प्रत्यारोपणमा विदेशमा एक करोड ५० लाख रुपियाँसम्म खर्च हुने गरेकोमा नेपालमा १५ देखि २० लाख रुपियाँमा प्रत्यारोपण गर्ने तयारी गरिएको छ।
प्रकाशन मिति–२०७३ मंसीर १८ गते शनिवार ।